खुम्बु घुम्न आएका एक पर्यटकको मृत्यु
सन्तोष राउत
सोलुखुम्बु, मङ्सिर १७ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा रहेका नेपालीमूलका एक जना अमेरिकी नागरिकको मृत्यु भएको छ ।
तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको जहाजमार्फत बिहीबार यहाँ आउनुभएका ६१ वर्षीय विन्देश्वर कक्षपतिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुुले जनाएको छ । नाम्चे भ्रमणमा निस्केका कक्षपतिको फाक्दिङस्थित ट्रेकर होटलमा मृत्यु भएको हो । चिसोको मौसममा होटलभित्र हिटर तापिरहेको अवस्थामा उहाँ एक्कासि बेहोस हुनुभएको थियो ।
बेहोस हुनासाथ तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक कवित कटवालले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि शुक्रबार नै हेलिकप्टरमार्फत टिचिङ अस्पताल महाराजगन्ज काठमाडौं पठाइएको छ ।