खुला | प्रदेश |

डोटीमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन

डिलबहादुर सिंह
डोटी, मङ्सिर १८ गते । डोटी जिल्लाका बिभिन्न आठवटा स्थानीय तहहरुमा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम’ सञ्चालन भएको छ । कार्यक्रम अन्तर्गत दुई चरणमा मतदाता नामावली संकलन गरिनेछ ।

जिल्ला निर्वाचन कार्यालय डोटीले दिएको जानकारीअनुसार पहिलो चरणमा मङ्सिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको पूर्वीचौकी गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, बडिकेदार गाउँपालिका र सायल गाउँपालिका गरी चार वटा पालिकामा र दोस्रो चरणमा मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म शिखर नगरपालिका, के.आई.सिंह गाउँपालिका, जोरायल गाउँपालिका र आदर्श गाउँपालिकामा मतदाता नामावली संकलनको कार्यक्रम सञ्चालन हुनेछ ।

मतदाता नामावली दर्ता र संकलन गर्ने कार्यलाई प्रचलित कानुन बमोजिम नियमित र व्यवस्थित गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन, मतदान गर्न योग्य मतदाताहरु मतदाता नामावलीमा नछुुटुन भन्ने उद्देश्यले मतदाता नामावली संकलन विशेष कार्यक्रम गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय डोटीका नायब सुब्बा दलबहादुर मलासीले जानकारी दिनुभयो ।

स्थानीय तहको केन्द्र रहेको स्थानबाट मतदाता नामावली संकलन गर्ने कार्य गरिने बताइएको छ । जिल्ला निर्वाचन कार्यालय डोटीबाट नियमितरुपमा मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय दिपायल सिलगढी नगरपालिकामा पर्ने भएकाले दिपायल नगरपालिकामा भने विशेष कार्यक्रम लागु गरिएको छैन ।

जिल्ला निर्वाचन कार्यालय डोटीको २०७७ पुष ५ गते सम्मको तथ्यांकअनुसार डोटीमा ५५ हजार २ सय ७६ पुरुष र ६२ हजार ३ सय ४१ महिला गरी कूल १ लाख १७ हजार ६ सय १७ मतदाता छन् ।