तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया शुरु
नारद कोहार
तौलिहवा, मंसिर १९ गते । प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अघि बढाइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाका लागि गठित पहिलो स्टेरिङ समितिको बैठक तिलौराकोटमा सम्पन्न भएको छ ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने नेपाल सरकारको प्राथमिकतामा परेको क्षेत्र अन्तर्गत आवश्यक कार्यलाई अगाडि बढाउने उद्देश्यले सो बैठक बसिएको हो । सो बैठकमा संम्भाव्य विश्व सम्पदा सुचिमा हाल सूचीकृत रुपमा रहेको नाम यथास्थितिमै वा पुनरावलोकन गर्ने र विधागत विज्ञबाट अध्ययन अनुसन्धानसहितको कार्यपत्र तयार गरी राष्ट्रिय आयोजना गर्ने निर्णय भएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।
युनेस्को जेफिट प्रोजेक्ट अन्तर्गत भएको कपिलबस्तुको ऐतिहासिक महत्वको दस्ताबेज, पुरातात्विक अध्ययन अनुसन्धानको दस्ताबेजको विवरणहरु सम्बन्धित टिमलिडरबाट माग गर्ने र विश्व सम्पदामा मनोनयनका लागि दस्ताबेज तयार गर्न आवश्यक पर्ने अन्तर्राष्ट्रिय विज्ञ राख्ने निर्णय भएको महानिर्देशक गौतमले बताउनुभयो ।
विभिन्न खोज अनुसन्धानबाट कपिलबस्तु यही नै हो भनेर प्रमाण समेत जुटेकाले विश्व सम्पदा सूचीको सेसनमा अगाडि लैजाने निर्णय गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताउनुभयो । कपिलबस्तुलाई विश्वस्तरिय सम्पदा शहरको रुपमा कोषले व्यापक काम अगाडि बढाएको उहाले बताउनुभयो ।
कपिलबस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न एक्लै लुम्बिनी विकास कोषले मात्र नभएर यो नेपाल सरकारको गौरवको विषय भएकोले सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दा परेको समस्या कपिलबस्तु तिलौराकोटमा नपरोस् भनेर यहाँका स्थानीयलाई पनि सबै क्रियाकलपमा संलग्न गराउनुपर्ने पुरातत्व विभागका सुचना अधिकारी सुरेस सरश श्रेष्ठले बताउनुभयो ।
कपिलबस्तु नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी गुप्ताले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफ्नो साथ रहेको बताउनुभयो । बैठकमा पुरातत्वविद् बसन्त विडारी, कोषका पुरातत्व अधिकृत हिमाल उप्रेती, बरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राई, लुम्बिनी बोद्ध विश्व विद्यालयका डिन हृदयरत्न बज्राचार्य, गुणखर गैह्रेलगायतको सहभागिता थियो ।