खुला | समाज |

सिगाटोका रोगका कारण केराखेतीमा ठूलो नोक्सानी


गोपी ज्ञवाली
नवलपरासी, मङ्सिर २२ गते । पश्चिम नवलपरासीको दक्षिणी क्षेत्रमा गरिएको केराखेती को ठूलो भागमा ब्लाक सिगाटोका नामक रोगका कारण सयौं बिघाको केराखेती प्रभावित भएको छ । पछिल्ला वर्षहरुमा छिट्पुट रुपमा देखिने गरेको ढुसीजन्य रोग ब्लाक सिगाटोका अहिले पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुरका केराखेती मा प्रकोपको रुपमा फैलिएपछि सयौं बिघामा लगाइएको केराखेती प्रभावित बनेको कृषि ज्ञानकेन्द्र परासीका कृषि प्रसार अधिकृत सन्तोष चौधरीले बताउनुभएको छ ।

नवलपरासीको दक्षिणी भागमा रहेका सुस्ता र प्रतापपुर गाउँपालिकाका केराखेतीका फाँटहरु पछिल्लो एक महिनादेखि देखापरेको ढुसीजन्य रोग ब्लाक सिगाटोका प्रकोपको रुपमा फैलिन थालेपछि अहिले जिल्लाका करिव २५० बिघा क्षेत्रफलमा लगाइएका केराखेती प्रभावित भएको केरा उत्पादक व्यवसायी सङ्घका जिल्ला अध्यक्ष लख्खु यादवले बताउनुभयो । यो रोगका कारण कति क्षति भयो भन्ने विषयमा तथ्याङ्क सङ्कलन गरिरहेको भए पनि अहिलेसम्म पनि लाखौं रुपियाँको किसानहरुलाई नोक्सानी भएको यादव बताउनुहुन्छ ।

केराखेतीका अगुवा किसानको रुपमा रहेका यादवका अनुसार केराको बोटमा पछिल्लो एक महिनादेखि देखापरेको रोगका कारण केराका पातहरु तल्लो भागबाट क्रमशः पहेँला हुँदै जाने, पहेँला भएपछि पातहरु खस्दै जाने र यो रोग लागेको बोटहरुमा केराका कोसा समयभन्दा पहिलै पाकेको जस्तो भएर झर्ने समस्याले किसानहरु पीडित भएका छन् ।

केराखेतीमा यो रोगको प्रभाव बढ्दै गएपछि परासीस्थित कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नष्टलगायतका संस्थाहरुबाट आएको विज्ञहरुको टोलीले अध्ययन गरी उपचार शुरु गरिएको कृषि ज्ञान केन्द्र परासीका कृषि प्रसार अधिकृत चौधरीले बताउनुभयो । सिगाटोगा रोगका प्रभाव कम गर्नका लागि किसानलाई अन्तरबाली खेती प्रक्रिया अपनाउन सिफारिस गरिएको छ र सोही अनुसार किसानहरुले तीन वर्षसम्म लगातार केराखेती गरेका क्षेत्रहरुमा अहिले गहुँ, तोरी, आलु, मकैलगायतका बालीहरु लगाउन थालिएको बताइएको छ ।

पश्चिम नवलपरासीका किसानहरु पछिल्ला पाँच सात वर्षदेखि केराखेतीतर्फ आकर्षित हुँदै गएको अवस्थामा अहिले केरामा देखापरेको रोगका कारण किसनाहरु प्रभावित बनेका छन् । ब्लाक सिगाटोका नामक रोगका कारण अहिले जिल्लाको ठूलो खैरेटहवा, सोमनी, जमुनिया, खैरहनी, प्रतपुर, सुर्यपुरा, बैदौली, श्रीरामपुर, गुहरपुरवा, बदरी, पीपरपाती, बलुवा टोलापकलिहवा, नर्सही, कुडिया, रुपौलिया, त्रिवेणीको बनकटटी, रैहवा, जीतपुरगढी, रानीनगर लगाउतका क्षेत्रका किसानहरु प्रभावित भएका छन् ।
पश्चिम नवलपरासीको दक्षिणी क्षेत्रमा किसानहरुले पाँच सात वर्षदेखि उखुखेती छाडेर केराको व्यवसायिक खेती गर्दै आएका छन् । अहिले किसानहरुले लोजिनाई, नन्दन, रावेस्टा नामक प्रजातिका केराको खेती गर्दै आएका छन् ।