खुला | प्रदेश |

सहमति जुटेपछि मदन भण्डारी राजमार्ग निर्माण सुरु


बाबुराम देवकोटा
सिन्धुलीमाढी, मङसिर २२ गते । निर्माणाधीण राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग अन्तर्गत विवादमा रहको सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी क्षेत्रमा सहमति जुटेपछि सडक निर्माण सुरु भएको छ ।मापदण्डको विषयलाई लिएर स्थानीय र आयोजनाबीच विवाद हुँदा निर्माण रोकिएको सदरमुकाम क्षेत्रको धुराबजार–खट्टार छ किलोमिटर लम्बाइ सडक सहमतिपछि निर्माण सुरु भएको छ । सडकको दायाँबायाँ एक–एक मिटरको नालासहित ११ मिटर क्षेत्रभित्र सडक निर्माण गर्ने आयोजना र स्थानीयबीच सहमति भएपछि उक्त सडक निर्माण सुरु भएको आयोजनाले जनाएको छ ।

मदन भण्डारी लोकमार्ग पश्चिम खण्डका इन्जिनियर तथा सूचना अधिकारी निरन्जन थापाले दाँयाबाँया गरी ११ मिटरभित्र सम्पूर्ण स्टकचर (संरचना)को पनि सहमति भएपछि धुराबजार–खट्टार छ किलोमिटर लामो सडक निर्माण सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘केही विवाद नआए २०७८ साल चैतभित्र धुराबजार–खट्टार सडक निर्माण सक्ने लक्ष्य छ । विवाद आए पनि आगामी असारसम्म निर्माणकार्य सक्छौं ।’

आयोजनाका अनुसार कमलामाई नगरपालिका वडा नं ४ र ६ अन्तर्गत धुराबजार, फाँट, मिलनचौक, लव्दाहा, शिवालय, साङबाले हुँदै खट्टारसम्म सडक मापदण्ड अनुसार ३० मिटर क्षेत्राधिकारको विषयमा स्थानीयले अवरोध गरी सडक निर्माण रोकेका थिए । मापदण्ड अनुसारको सडकको क्षेत्राधिकार कायम गर्दा बजार र वस्ती मासिएर ठूलो नोक्सानी हुने भन्दै नक्साङ्कन परिवर्तन गर्न पीडित स्थानीयले सुझाव दिएका थिए ।

राष्ट्रिय गौरवको २५० किलो मिटर लामो उक्त राजमार्गलाई दुई खण्डमा विभाजन गरी निर्माण हुँदै आएको छ । उक्त राजमार्गलाई उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटर लम्बाइ सडकलाई पूर्वी खण्ड र भिमानदेखि हेटौँडा उप–महानगरपालिका–६ चौगडासम्म ११५ किलोमिटर लम्बाइ सडकलाई पश्चिम खण्डमा विभाजन गरी निर्माण हुँदै आएको छ ।

वि.सं.२०७३ साल कात्तिकमा सम्झौता गरी निर्माण सुरु गरिएको उक्त लोकमार्ग २०७७ कात्तिक महिनासम्म सक्ने लक्ष्य थियो । कोरोनाका कारण निर्माणमा ढिलाइ भएपछि २०७९ साल असारसम्म सक्ने गरी आयोजनाको डेढ वर्ष म्याद थप भएको छ । पूर्वी खण्डमा ९६ प्रतिशत र पश्चिम खण्डमा ९० प्रतिशत भन्दा बढी सडक निर्माणको काम सकिएको आयोजनाले जनाएको छ ।

मदन भण्डारी राजमार्गको पश्चिम खण्ड सिन्धुलीको भिमान–हेटौंडा सडकको कुल ११५ किलोमिटर लम्बाइमध्ये ९६ किलोमिटर निर्माण सम्पन्न भई कालोपत्रे गरेर यातायात सञ्चालनमा आइसकेको छ । थप छ किलोमिटरमा सडक निर्माण गर्न सहमति जुटेपछि अब बाँकी ११ किलोमिटरमा पुल र आसपासका क्षेत्र सडक निर्माण बाँकी रहेको आयोजनाले जनाएको छ ।

पश्चिम खण्डमा ४० वटा पुलमध्ये ३२ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । बन्न बाँकी मध्ये आठ वटा पुलमध्ये छ वटाको ठेक्का लागेर काम भइरहेको र बाँकी दुई वटा पनि चाँडै निर्माण सुरु हुने उक्त खण्डका सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।

राजमार्गको पूर्वी खण्ड उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटर लम्बाई सडकमध्ये ११७ किलोमिटर सडक कालोपत्रे सहित सम्पन्न भई यातायात सञ्चालनमा आएको पूर्वी खण्डका इन्जिनियर तथा सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी १८ किलोमिटर सडकमा आठ वटा पुलको काम भइरहेको छ भने चार वटा पुलको काम चाँडै निर्माण सुरु हुनेछ ।