सीमा नाकाबाट ७१९ महिला र बालबालिका बेपत्ता
सिराज खान
नेपालगञ्ज, मङ्सिर २४ गते । यहाँस्थित नेपाल–भारत सीमा नाका जमुनाह भएर चालु आर्थिक वर्षमा ७१९ महिला तथा बालबालिका बेपत्ता भएको तथ्य सार्वजनिक भएको छ । जमुनाह नाका भएर ती महिला र बालबालिका बेपत्ता भएको मानव बेचबिखनविरुद्ध नाकामा काम गर्ने विभिन्न संघ संस्था र प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन परेपछि सो तथ्य सार्वजनिक भएको हो ।
कुनै न कुनै बहानामा नाका पार गरी परिवारसँग सम्पर्कविहीन भएको निवेदनहरुमा उल्लेख गरिएको छ । माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले चालु आर्थिक वर्षमा माइती नेपालमा ३६७, प्रहरी कार्यालयमा ३४८ र साना हातहरुमा चार जना गरी जम्मा ७१९ वटा खोजतलासको निवेदन परेको बताउनुभयो । माइती नेपालमा परेको ३७६ वटा निवेदनमा ७१ जना बाँके जिल्लाका रहेको पनि कोइरालाले जानकारी दिनुभयो ।
खोजतलासका लागि निवेदन परेकामध्ये ४७ जनाको भारत तथा खाडी मुलुकबाट सकुसल उद्धार गरिएको र अन्यको खोजी भैरहेको उहाँले बताउनुभयो । कोइरालाकाअनुसार भारत तथा खाडी मुलुकबाट शक्ति समूहले २८ जना, माइती नेपालले १६ जना र आफन्त नेपालले तीन जनाको उद्धार गरेको बताएको छ । उद्धार गरिएकामध्ये बाँकेका नौ जना छन् ।
माइती नेपालका संयोजक कोइरालाका अनुसार यसरी सम्पर्कविहीन हुनेहरुमा धेरैजसो आफूखुशी हिँडेको भएपनि सानो सङ्ख्या चाहिँ घरपरिवारकै सहमतिमा भारत तथा खाडी मुलुक पुगेको पाइन्छ । लामो समयसम्म आफ्नो मान्छे सम्पर्कमा नआएपछि खोजीका लागि मानव बेचबिखनविरुद्ध काम गर्ने संघ सस्था तथा प्रहरीमा उजुरी दिएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगार र शैक्षिक गतिविधि, झुटाे विवाह, मनोरञ्जन, मानवअङ्ग बेचबिखन, गर्भाशयको बेचबिखनसहितका लागि मानव ओसारपसार हुनेगरेको माइती नेपालले जनाएको छ । उता, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन गाह्रो हुनेगरेको प्रहरीले जनाएको छ ।
पीडितले बयान फेरिरहँदा कानुनी अड्चन उत्पन्न हुनाले कारवाही गर्न ठूलो समस्या हुनेगरेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानले बताउनुभयो । प्रहरी र वकिलले राम्रो अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाए पनि अन्तिममा पीडितले नै बयान फेरिदिने गरेकोले समस्या हुनेगरेको उहाँले बताउनुभयो ।