छानोविहीन टहरोमा चिसो रात काट्दै वृद्ध गुरुङ दम्पति
अमरराज नहर्की
तनहुँ, मङ्सिर २५ गते । तनहुँको एक वृद्ध दम्पत्ति चिसो मौसममा छानो नभएको घरमा बस्नुपर्दा कठ्याङ्ग्रिएर जीवन काट्न वाध्य हुनुभएको छ । यस्तो दुःख पर्नेमा म्याग्दे गाँउपालिका –५ झिरुवास, जामुनेका ७६ वर्षीय धनवल गुरुङ र उहाँको परिवार रहेको छ । गुरुङ परिवार गएको असारमा पहिरो गएर घर भत्केपछि छानो विहीन टहरोमा बस्न वाध्य हुनुभएको हो ।
भत्किएको टहरो, च्यातिएको गुन्द्रि र केही थान च्यातिएको कपडासहित धनवल विगत ६ महिनादेखि यही टहरोमा जोखिमयुक्त जीवनयापन गरिरहे पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । उमेरले नेटो काटिसकेको बुढ्यौली शरीर लिएर आफनो केही उपाय नलागेपछि जोखिययुक्त टहरामा बास बस्नु भएको हो । टहरोमा बसेर आफना कलिला नानीबावुसहित बस्दै आएका महिनौं भइसक्यो । चार छोरा र पाँच छोरीका बुवाआमा धनवलका परिवार यही घरमा बस्दै आएका छन् । ज्याला मजदुरी गरेर जीवन गुजार्दै आएका गुरुङ परिवारको आर्थिक अवस्था कमजोर भएर घर बनाउन नसक्दा चिसौ मौसमा खुला आकाशमुनि जोखिमयुक्त घरमा बस्न वाध्य हुनुभएको हो ।
गरीबका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि धनवलको परिवारको पहुँचमा पुगेको छैन । पृथ्वी राजमार्गवाट करिब ५ किलोमिटर पश्चिमतर्फ रहेको धनवलको अवस्था हेर्दा कसैको पनि मन थामिँदैन । केन्द्रीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम स्थानीय तहमार्फत् सञ्चालन गर्दै आए तापनि त्यो कार्यक्रम कार्यान्वय गर्न ढिलाई भएकाले चिसो मौसममा जाडोले कामेर बस्नुपर्ने अवस्था गुरुङ परिवारको छ ।
गएको असारमा पहिरो गएर पनि कुनै राहत नपाएका धनवल गुरुङ्ग आफनो यो दुःख सरकारले नहरेको बताउनुभयो । खरको छानो भत्किएर घरको नाल र भाटा नै भाँचिएका छन् । किन यस्तो जोखिममा बस्नुहुन्छ ? प्रश्नमा भावुक हँुदै धनवलले भन्नुभयोे, आफनो भनेको यही हो, कहाँ जाने ? वृद्ध श्रीमतीका साथमा बस्दै आएका धनवलले हालसम्म कसबवाट पनि केही सहयोग नपाएको गुनासो गर्नुभयो ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत तत्काल खरको, अथवा कच्ची छानो हटाएर ५० हजार बरावरको जस्ताको छानो छाउने कार्यक्रम सरकारले लागू गरेता पनि कार्यान्वयनमा ढिलाई हुँदा सुरक्षित घरमा बस्न नपाउनुभएको हो ।
वडाले गरेको सिफारिसको आधारमा सुरक्षित आवासको लागि तीन लाख रुपियाँ सहयोग पाउने सूचीमा गुरुङ परिवार परेको म्याग्दे गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष शिवबहादुर आलेले जानकारी दिनुभयो । ‘‘ प्रक्रिया पूरा गर्न नै एक वर्ष लाग्ने रै’छ तत्काल सम्बोधन नगरिएकाले ढिलाई भएको छ’’ वडाध्यक्ष आलेले भन्नुभयो । प्रदेश सरकार अन्र्तगत रहेको नागरिक आवास कार्यक्रम अन्र्तगत घरविहीन, छानोविहीन, जोखिमयुक्त र पहिरोपीडितका लागि बनेको कार्यक्रम पनि धनवलको परिवार अनविज्ञ छ ।