म्याग्दी सक्रिय संक्रमणमुक्त जिल्ला
अमृतप्रसाद पौडेल
बेनी, मङ्सिर २६ गते । हिमाली जिल्ला म्याग्दीमा कोभिड–१९ का संक्रमितहरुको संख्या शुन्य भएपछि जिल्ला सक्रिय संक्रमणमुक्त भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार २४ गते शुक्रबार जिल्लामा भएका सबै संक्रमितहरुले कोभिड–१९ जितेसँगै जिल्ला सक्रिय संक्रमित मुक्त भएको हो । शुक्रबार सात जनाले एकै पटक कोभिड–१९ जितेपछि हाल म्याग्दीमा सक्रिय संक्रमिहरु छैनन् ।
हालसम्म हिमाली जिल्ला म्याग्दीमा तीन हजार ४०५ जनामा कोभिड–१९ पुष्टि भएको छ । पिसिआर विधिबाट दुई हजार ७९ जनामा र एन्टीजेन विधिबाट एक हजार ३२६ जनामा कोभिड–१९ पुष्टि भएको थियो । कोभिड–१९ संक्रमणपछि कुल ८२ जना म्याग्देलीको मृत्यु भएकोमा २९ जनाको म्याग्दी जिल्ला भित्रै र ५३ जनाको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको निमित्त प्रमुख लम्सालले बताउनुभयो ।