हिमालपारीको गाउँ लिमीमा घरधुरी संख्या घट्दो
राजन रावत
हुम्ला, मङ्सिर २६ गते । हिमालपारीको गाउँ लिमीमा घरधुरी संख्या घटेको पाइएको छ । जनगणनाको विवरण लिने क्रममा लिमीका तीन गाउँको घरधुरी घटेर आएको हो ।
जिल्ला जनगणना अधिकारी विनोद भट्टले यस पटकको जनगणना कार्यबाट नाम्खा गाउँपालिका–६ को लिमीको घरधुरी १४७ मात्र आएको बताउनुभयो ।
लिमीका दुई जना स्थानीयलाई पहिलो पटक गणक बनाएर विवरण लिने काम भएको बताउँदै तीन गाउँ तील, हल्जी र जाङबाट यथार्थ विवरण आएको बताउनुभयो । वडा अध्यक्ष पाल्जोर तामाङ घरधुरी संख्या घटेको बताउँदै बसाइँसराइँ मूख्य समस्या रहेको बताउनुभयो । उहाँले यसअघि १८४ घरधुरी रहेको लिमीमा हालसम्म तीनै गाउँ गरी ३७ घरधुरीले गाउँ छोडेर काठमाडौंतर्फ लागेको बताउनुभयो ।
पछिल्लो पुस्ता लिमी बस्न आनाकानी गरिरहेको बताउँदै उहाँले तीन गाउँ मध्य तील र जाँङ गाउँबाट बढी बसाइँसराइँ गर्ने गरेको बताउनुभयो । हल्जी गाउँबाट भने हालसम्म कसैले बसाइँसराइँ गर्नुभएको छैन । स्थानीयले विवरण संकलन गर्ने कार्य गरेको कारण निर्धारित मिति भन्दा चार दिन अगाडि नै कार्य सम्पन्न भएको थियो ।
यद्यपि हिमपातले बाटो बन्द भएको कारण कार्य सम्पन्न भए पनि गणकहरु सबैभन्दापछि मात्र कार्यालयमा आइपुग्नु भएको थियो । जनसंख्या भने अहिले नै भन्न नसकिने कार्यालयले जनाएको छ ।