खुला | स्वास्थ्य |

गुल्मीमा अक्सिजन प्लाण्ट सञ्चालन

 


तिलाचन पाण्डे
तम्घास, मङ्सिर २७ गते । गुल्मीमा अक्सिजन प्लाण्ट सञ्चालनमा आएको छ । जिल्लामा कोभिड–१९ को कारण अक्सिजन अभावको कारण विरामीको ज्यान थालेपछि २०७८ वैशाख अन्तिम साताबाट नेपाल पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट अभियान’ सञ्चालन गरेको थियो ।
अभियानबाट संकलित ६० लाख पत्रकार महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो भने नेपाल सरकारबाट एक करोड विनियोजन भएको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले जानकारी दिनुभयो ।
फेयर टे«ड काठमाडाैंले एक करोड ३१ लाखको लागतमा प्लाण्ट निर्माण गरेको छ । प्लाण्ट व्यवस्थापनको लागि आवश्यक भौतिक संरचना गुल्मी उद्योग वाणिज्य सङ्घले निर्माण गरेको छ ।
अहिले २४ घण्टामा ९६ सिलिण्डर उत्पादन भइरहेको पच्याले जानकारी दिनुभयो । अब गुल्मी अस्पतालसँगै जिल्लाका स्वास्थ्य संस्था र घरमै आवश्यक पर्ने बिरामीहरुले पनि सहज रुपमा अक्सिजन पाउनेछन् ।
साउन महिनामै प्लाण्ट खरिद भए पनि लामो बर्षात, पूर्वाधार निर्माण र चाडपर्वको कारण समयमै सञ्चालन गर्न नसकिएको पच्याको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
पत्रकार महासंघ गुल्मीले प्लाण्टसँगै विभिन्न सङ्घसंस्थाको सहयोगमा जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्टेटर, सिलिण्डर, मास्क, सेनिटाइजर, पिपिइलगाएका महत्वपूर्ण स्वास्थ्य सामग्री पनि सहयोग गर्दै आएको छ ।