खुला | प्रदेश |

पुल बनेपछि बुर्तिवाङ–तमानमा सवारी सञ्चालन सहज



नवीन शिशिर विक
बागलुङ, मङ्सिर २७ गते । बागलुङको पश्चिमका दुई स्थानीय तह ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा अब बाह्रै महिना सडक यातयात सञ्चालनमा आएको छ । दुई स्थानीय तह जोड्ने सडक सञ्जाल बुर्तिवाङ–बोङ्गादोभान सडकको भालिवाङ र लुकुरवन खोलामा दुई वटा मोटररेवल पुल निर्माण भएपछि वर्षामा समेत सवारी चल्ने अवस्था सृजना भएको हो ।

जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि तमानखोला गाउँपालिकाको केन्द्रसम्मको सडक सञ्चालन खोलामा आउने पानीको कारण नरोकिने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

बागलुङको ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सिमा क्षेत्र भालीवाङ खोलामा मोटरेबल पुल निर्माण गरिएको छ । कुल चार करोड ४२ लाख लागतमा बुर्तिवाङदेखि तमानखोला गाउँपालिका केन्द्र बोङ्गादोभान जोड्न पुल निर्माण गरिएको हो । नयाँ बाटो सूर्यदल जेभीले गत वर्षको मङ्सिरदेखि पुल निर्माण सुरु गरेको थियो ।

नौ महिनाका काम सक्ने गरी वि.स २०७७ असोज १२ गते निर्माण सुरु भए पछि कोरोनाको कारण निर्माण ढिला भएको थियो । उक्त पुल ४० मिटर लम्बाइ र साढे आठ मिटर चौडाइको छ ।

एक वर्षमा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको कम्पनीका साइड इन्जिनियर बलाराम पौडेलले जानकारी दिनुभयो । पुल निर्माण भएपछि दुई गाउँपालिकाको सडक सञ्जाल बाह्रै महिना सञ्चालन हुनेछ ।

वर्षाको समय भालिवाङ खोलाको बहाव बढ्दा करिब पाँच महिना दुई पालिकामा यातायात सञ्जालन टुट्दै आएको थियो । अब नियमित सडक सञ्चालन हुने पौडेलले बताउनुभयो । बुर्तिवाङ बजारदेखि तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान ११ किलो मिटरको दूरी छ । पुल निर्माण भएपछि सडक यातयातको दूरी २० मिनेटमा सीमित भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुर्तिवाङ–तमानखोला सडक आयोजनाको स्टरवृद्धि तथा मोटरेबल पुल निर्माण गरेको हो । यस अघि आयोजनाले लुकुरबन खोलामा पुल निर्माण गरी यातायात सञ्चालन गरेको थियो । दुई वटा पुल सञ्चालनमा आए पछि बाह्रै महिना सडक यातयात सञ्चालन हुने गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो ।