खुला | प्रदेश |

ठेक्का भएको ६ वर्ष सम्म पनि बनेन पुल

अमरराज नहर्की
तनहुँ, मंसिर २५ गते । ठेक्का सम्झौता भएको ६ वर्ष वितिसक्दा पनि तनहूँको एक पुल निर्माण अझै पुरा भएको छैन । व्यास नगरपालिका–९ स्थित कवादी खोलामा निर्माण भइरहेको मोटर गुड्ने पुल निर्माण पूर्ण हुन नसक्दा निर्माण कार्य अधुरै रहेको हो ।

पुल निर्माण कार्य अलपत्र अवस्थामा हुँदा आवत जावतमा समस्या परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन । ठेकेदारले काम सुस्त गतिमा गरेका कारण ढिलो भएको आरोप लगाएका छन् । स्थानीयले सम्पर्क गर्दा ठेकेदारले फोन समेत नउठाउने र निर्माणको काम समयमा सम्पन्न नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका तत्कालिन प्रमुख एवम् समाजसेवी हरिदत्त पौडेलले चार वर्ष अघि नै बन्नु पर्ने पुल अहिलेसम्म पनि बन्न नसक्नुले ठेकेदारको लापरवाही भएको आरोप लगाउनुभयो । व्यास नगरपालिका ९ का अध्यक्ष सुरेश थापाले पनि पुल निर्माणमा चरम लापरवाही भएको आरोप लगाउनुभयो ।

‘‘हामी जनप्रतिनिधि हुनुभन्दा अघि नै बन्नुपर्ने पुल हो हाम्रो कार्यकाल सकिन लाग्दा निर्माण पूरा भएको छैन त्यस्ता ठेकेदारलाई रद्ध गर्ने, कारबाही गर्नुपर्छ’’ वडाध्यक्ष थापाले भन्नुभयो । लामो समयदेखि पुल अलपत्र पर्दा वडाबासीले सास्ती खेप्नुपरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । वडासँग समन्वय गरेर पुल निर्माणको काम अगाडि बढाइनु पर्ने हो तर त्यसो गरिएन अध्यक्ष थापाले भन्नुभयो । पुल निर्माणका लागि कति बजेट आएको हो बारेमा समेत जानकारी नगराइएको वडाध्यक्ष थापाले बताउनुभयो । ढलानपछि पुल अलपत्र छोडिएको जानकारी दिनुभयो ।

कलेस्ती, टुहुरेपसल, तुरतुरे मोटरमार्गका अध्यक्ष एवम् युवा व्यवसायी राजु आचार्यले पुल निर्माण पुरा नहुँदा स्थानीय वासिन्दा जोखिम मोलेर खोला तर्नुपरेको बताउनुभयो । ‘‘पुल निर्माण नहुँदा खोला तर्ने क्रममा गतवर्ष एक वृद्धलाई खोलाले बगाएर मृत्यु भयो हामीले पटक पटक सम्बन्धित निकायलाई घचघच्याउँदा समेत पुल निर्माणको काम पुरा भएको छैन’’ आचार्यले भन्नुभयो ।

सडक डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर कल्याण खड्काले चैत मसान्तसम्मको लागि म्याद थप भएको र सो अवधिमा पुरा गर्न ताकेता गरिएको जानकारी दिनभयो । उहाँकाअनुसार ८० प्रतिशत निमाणको काम सम्पन्न भइसकेको छ । कोरोना भाईरसको सङ्क्रमण लगायतको कारण देखाई निवेदन परेकाले म्याद थप भएको इन्जिनियर खड्काले जानकारी दिनुभयो ।

जाली लगाउने, दायाँ बायाँ रेलिङ राख्ने, खोलातर्फ तटबन्ध गर्ने काम बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । कार्यालयकाअनुसार सङ्घीय सरकारको ३ करोड ९१ लाख ४७ हजार २ सय २० रुपैयाँको लागतमा सो पुल निर्माण गरिरहेको छ ।

हिरा एण्ड नमिता कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का पाएको छ । सिंगल स्पान अन्तर्गत उक्त पुलको निर्माण कार्य छिट्टै सम्पन्न गर्ने दावी कन्स्ट्रक्सनका सञ्चालक नन्दलाल श्रेष्ठले बताउनुभयो । ‘‘कोरोनाले गर्दा ढिलाई भएको दुई महिना भित्रै काम पुरा गर्ने गरी काम भइरहेको छ’’ श्रेष्ठले भन्नुभयो ।