जीर्ण भवनमा बसेर वर्षौंदेखि नागरिकको सुरक्षा दिँदै प्रहरी
लीलाराज झापाली
बिर्तामोड, मङ्सिर २८ गते । नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने प्रहरी नै जोखिमको भवनमा बस्न बाध्य छ । नेपाल भारत दक्षिणी सिसास्थित झापा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय कुमरखोद र टाघनडुब्बा प्रहरी चौकीको जीर्ण भवनहरुमा जुनसुक्कै बेला पनि भत्केर ज्यानै जान सक्ने जोखिम रहेको छ ।
यी दुबै प्रहरी भवनका प्रहरीहरु गत कार्तिक पहिलो साता आएको अविरल वर्षाको समयमा रातभर पानी चुहिएर सुत्न नसकेको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नारायण प्रधानले बताउनुभयो । पानी नपरेको बेला पनि भवनको छतको सिमेन्टका टुक्राहरु झरेर बस्नै नसकिने भएको प्रधानको भनाइ छ । यस्तो भवनमा बसेर कसरी जनताको सुरक्षा गर्नु प्रधानको गुनासो छ ।
यस सीमा सुरक्षाका लागि दुईवटा प्रहरी चौकी र एउटा इलाका प्रहरी कार्यालय रहेको छ । प्रहरी चौकी पन्थपाडाको भवन तुलनात्मक रुपमा राम्रै भए पनि बाँकी दुईवटा भवनको अवस्था भने ज्यादै जीर्ण भएको प्रहरीको भनाइ छ ।
‘वि.सं २०३२ सालमा स्थापना गरिएको झापा गाउँपालिका–४ खयरबारीमा रहेको प्रहरी चौकीको अवस्था ज्यादै जीर्ण छ, चौकीको छानाबाट सिमेन्टका ढिक्का खस्छन, पानी चुहिने समस्या छ,’ चौकी प्रमुख सहायक प्रहरी निरीक्षक वीरबहादुर भण्डारीले भन्नुभयो ‘प्रहरीलाई सुत्न र बस्न समेत जोखिम छ, यस चौकीमा सहायक प्रहरी निरीक्षकको कमान्डमा आठ जना प्रहरी कार्यरत रहनुभएको छ । जनताको सुरक्षा गर्ने प्रहरी नै जोखिमको भवनमा बसेर नागरिकको सुरक्षामा खटिनुपरेको प्रहरी प्रमुख भण्डारीको दुःखेसो छ ।
नेपाल भारत सीमा जस्तो जटिल क्षेत्रमा बस्ने प्रहरीको भवन नै जोखिममा रहेको झापा गाउँपालिका ४ नम्बर वडाध्यक्ष राजुजंग भारतीले बताउनुभयो । भवन धेरै पुरानो भएकोले समस्या आएको भारतीको भनाइ छ । २० वर्ष पहिले भवन मर्मत गरेको भए पनि अब भने भवन कामै नलाग्ने अवस्थाको भएको भारतीले बताउनुभयो ।’
‘सिमेन्टका ढिक्का झर्दा छतको रड नै देखिन थालेको छ । कहिले पुरै छत नै खसेर क्षति गर्ने हो भन्ने पीर छ’, भारतीले भन्नुभयो । स्थानीय सरकारले गर्न सक्ने सहयोग रङ्गरोगन, टेबलकुर्सीको सहयोग त हामीले गरिरहेका छौँ तर भवन बनाउनकै लागि त प्रदेश तथा सङ्घीय सरकारकै बजेट चाहिने भारतीको भनाइ छ ।
झापा–२ कुमरखोदमा रहेको इलाका प्रहरी कार्यालय भवनको अवस्था झन जीर्ण छ । यहाँ प्रहरी नायब निरीक्षकको कमान्डमा १५ जना प्रहरी कार्यरत रहनुभएको छ । देशमा राणा शासनकै बेला वि सं २००१ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालयको भवनमा अहिले सिमेन्ट खस्ने, पानी चुहिने अवस्था छ । यहाँको थुनुवा राख्ने हिरासत समेत जीर्ण बनेकाले कोही मानिसलाई एक रात राख्न पनि धेरै जोखिम लिनुपर्ने बाध्यता रहेको प्रहरीको भनाइ छ ।
कतिबेर सिमेन्टको ढिस्काले टाउकोमा लागेर मार्ने हो भन्ने त्रासमा थुनुवा र प्रहरी बस्नुपर्ने बाध्यता भएको प्रहरी प्रमुख प्रधानको भनाइ छ ।
कोही पनि थुनुवालाई एक रात राख्नुपर्यो भने सबैको निन्द्रा र होस हवास उड्छ प्रहरी प्रमुख प्रधानले भन्नुभयो ।
यता, प्रहरी भवन भनेदेखि यता राणाशासन, प्रजातन्त्र हुँदै लोकतन्त्र गणतन्त्र आइसक्दा पनि भवनको अवस्था नफेरिएको झापा गाउँपालिका २ नम्बरका वडा अध्यक्ष नेत्र खड्काले बताउनुभयो । इलाका प्रहरी कार्यालय कुमरखोदको नयाँ भवन निर्माण निर्माणाधीन अवस्थामा अलपत्र रहेको छ । वि.सं २०७६ साल जेठ १६ गते निर्माणको जिम्मा लिएको टक्सार निर्माण सेवा प्रालि डल्लु काठमाडौंले वि.सं २०७७ जेठ १५ गते निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएकोमा हालसम्म भवन निर्माणले गति लिन सकेको छैन । ठेकेरदार कम्पनीले स्थानीय मजदुरको पैसा नदिँदा निर्माण कार्य रोकिएको मजदुर मुस्तफा मियाँले बताउनुभयो ।