चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता
जनार्जन खत्री
सर्लाही, मङ्सिर २८ गते । सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयले विभिन्न स्थानबाट हराएकामध्ये छवटा मोटरसाइकल फेला पारी मङ्गलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका सबै पल्सर मोटरसाइकल हुन् । २२० सीसीको चार थान, २०० र १५० सीसीको एक एक थान मोटरसाइकल बरामद गरेर सम्बन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।
विभिन्न स्थानमा प्रहरीले नियमित चेकजाँचमा क्रममा चालकले छाडेर गएको मोटरसाइकलहरु बरामद भएको हो । चेकचाँज गर्दा चालकहरु कागजात लिएर आउँछु भनी गएका र पछि फर्किएर नआएपछि अनुसन्धान गर्दै जाँदा चोरीको मोटरसाइकल रहेको खुलेको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।
मोटरसाइकल धनीहरुको पहिचान गरेर मङ्गलबार सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँकाे उपस्थितिमा सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको हो । मोटरसाइकल हस्तान्तरण कार्यक्रममै इलाका प्रहरी कार्यालय हरिवन अन्तर्गतमा शान्तिसुरक्षाको अवस्थाबारे सरोकारवालाहरुसँग अन्तक्र्रिया गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रसाई, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख सूर्यप्रसाद दाहाल, सशस्त्र प्रहरी बल हरिवन बेश क्याम्पसका डीएसपी, हरिवन नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष र अन्य सरोकारावालाको उपस्थिति थियो । सहभागीहरुले बढ्दो सडक दुर्घटना न्यूनीकरण, लागूऔषधको तस्करी तथा सेवन नियन्त्रणलगायतका विषयमा प्रहरीलाई सुझाव दिएका छन् ।