बस र स्कोरपियो ठोक्किँदा २७ जना घाइते
अविनाश चौधरी
धनगढी, मङ्सिर २९ गते । कैलालीको लम्कीचुहा नगरपालिका– ३ स्थित गोरङ्गेमा बुधबार विहान बस र स्कोरपियो एक आपसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडौंबाट महेन्द्रनगरतर्फ आउँदैगरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको यात्रुबाहक बस र पूर्वतर्फ गइरहेको से १ च १५९३ नम्बरको स्कोरपियो एकापसमा ठोक्किएको हो ।
दुर्घटनामा परी स्कोरपियोमा सवार तीन जना र बसमा सवार २४ जना गरी २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते हुनेमा स्कोरपियोमा सवार कञ्चनपुर कृष्णपुर नगरपालिका– ६ का ४८ वर्षीय मोतीराम डङ्गौरा, लक्ष्मीनारायण मन्दिर धनगढीका स्वामी ७८ वर्षीय देवराज आचार्य, मन्दिरकै २३ वर्षीय मुकुन्द गौतम रहनुभएको छ ।
यसैगरी, बसमा सवार दार्चुलाका ३७ वर्षीय कृष्ण धामी, २८ वर्षीय जयबहादुर पाल, कञ्चनपुरका ३० वर्षीय अर्जुन सुनार, ३१ वर्षीय रामबहादुर धामी, हुम्लाका ४५ वर्षीय ग्याम्जु तामाङ, कैलालीका २७ वर्षीय जीवन धानुक, ३७ वर्षीय शिव साउँद घाइते हुनुभएको प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, थप घाइतेमा कञ्चनपुरका ३७ वर्षीय भीम नेपाली, अछामका २२ वर्षीय उत्तम सुनार, कञ्चनपुरका ६० वर्षीय मानबहादुर सुनार, ४० वर्षीय ऐनबहादुर ओली, बैतडीका ५६ वर्षीय देवदत्त भट्ट, कञ्चनपुरका ५१ वर्षीय महावीर कुँवर रहनुभएको छ । यस्तै, बैतडीका ३० वर्षीय लोकेन्द्र भण्डारी, २३ वर्षीय नरेन्द्र भण्डारी, कैलालीका २५ वर्षीय नवीन थापा, ३३ वर्षीय तेजबहादुर धामी, ३७ वर्षीय धनबहादुर साउद घाइते हुनुभएको छ ।
सोहीअनुसार, कञ्चनपुरका २६ वर्षीय धनबहादुर राना, बैतडीका ३२ वर्षीय नरेन्द्रसिंह ठगुन्ना, दार्चुलाका ५८ वर्षीय उद्यसिंह कुँवर, डडेल्धुराका ३४ वर्षीय खडक थाम र बस चालक कञ्चनपुरका ३४ वर्षीय गणेश राना घाइते हुनुभएको छ ।
दुर्घटना भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय चिसापानीबाट खटेको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
बसमा सवार ३८ जनामध्ये १४ जना सकुशल छन् । उनीहरुलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा स्कोरपियोमा बढी क्षति भएकोे छ भने बस राजमार्गबाट तल पल्टिएको छ ।