साढे तीन अर्ब रुपियाँ लगानीमा कागज उद्योग बन्दै
सिराज खान
नेपालगञ्ज, मङ्सिर २९ गते । तीन अर्ब पचास करोड रुपियाँ लगानीमा पश्चिम नेपालमै पहिलो पटक बाँकेमा कागज उद्योग स्थापना शुरु भएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले बाँकेको राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा एक्सीलेण्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग सञ्चालन हुन लागेको हो ।
एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले दुई वर्षभित्र उद्योग सञ्चालन गर्नेगरी कामहरु शुरु गरिएको बताउनुभयो । त्यसका लागि २२ विगाहा जग्गा खरिद गरेर डीपीआरका लागि कन्सल्टेन्ट समेत नियुक्त गरिसकेको उहाँले बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका– १८, मा रजिष्टर्ड कार्यालय स्थापना गरेर कम्पनीले उद्योग निर्माणको प्रक्रिया शुरु गरेको जानकारी दिनुभयो । अध्यक्ष भण्डारीले कागज उद्योग हाल भारतीय कच्चा पदार्थमा निर्भर रहेकोले यो उद्योगले आफै कच्चा पदार्थ समेत उत्पादन गर्ने बताउनुभयो ।
फोटोकपी पेपर, म्याफ्लिथो पेपरलगायत सबैखालका गुणस्तरीय कागज उत्पादन गरी नेपालको आयातलाई केही हदसम्म रोक्न सफल हुने दावी गर्नुभयो । देशमा भएको एउटै कागज उद्योग भृकुटी कागज कारखाना बन्द भएपछि देश परनिर्भर बनेको उल्लेख गर्दै भण्डारीले यो उद्योग नेपालका लागि गौरबको उद्योग हुने बताउनुभयो ।
उद्योगमा पहिलो चरणमा रिसाइकल प्लान्ट जडान गरिने भएको छ । ५२ करोड प्रारम्भिक लगानीका लागि पहिलो पटकको सेयर निस्काशन समेत भइसकेको जानकारी दिंदै अध्यक्ष भण्डारीले दैनिक ५० टनको कटन मिक्स वेष्ट पेपरबाट रिसाइकल प्लान्ट स्थापना गरिने जानकारी दिनुभयो ।
‘यो उद्योग स्थापना पश्चात देशलाई कागज आयातमुक्त गरी निर्यात स्तरसम्म लैजान सक्षम बनाउने लक्ष्य हो,’–अध्यक्ष भण्डारीले भन्नुभयो । नेपालमा पेपर मिलहरु रहे पनि गुणस्तरमा प्रतिस्पर्धात्मक पेपर मिल नहुनु, पल्प तथा कागज उत्पादनमा ७५ प्रतिशत विदेशबाट आयात हुनु र मागअनुसारको क्वालिटी उत्पादन नहुने समस्या रहेको व्यवसायीले जनाएका छन् ।
बाँकेमा ठूलो लगानीको कागज उद्योग स्थापना हुन लागेको भन्दै नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले यसबाट बाँके जिल्ला पश्चिम नेपालकै प्रमुख आर्थिक केन्द्र बन्ने बताउनुभयो । नौबस्ता औद्योगिक क्षेत्रको निर्माण, सुख्खा बन्दरगाह निर्माण र ठूला सिमेन्ट तथा छड उद्योगलगायत कागज उद्योगको स्थापनाले बाँके आर्थिक राजधानी बन्ने विश्वास व्यक्त गर्नुभयो ।