स्लेट खानी बन्द भएपछि स्थानीयहरु रोजगारविहीन
शैलेन्द्र रोकाया
बझाङ, मङ्सिर २९ गते । बर्षौदेखि गाउँलेहरुले निकाल्दै आएको स्लेट (पल्टा) खानी बन्द भएपछि यहाँको बुङ्ल नगरपालिका १ रन्नी भिरकाका स्थानीयबासीको रोजगारी खोसिएको छ । डिभिजन बन कार्यालय बझाङले बुङ्गल नगरपालिका १ रननीभिरमा रहेको स्लेट खानी उत्खनन्मा प्रतिबन्ध लगाएपछि स्थानीयबासीको रोजगारी खोसिएको हो ।
बिषेसगरी पहाडी क्षेत्रमा घरको छाना छाउन प्रयोग हुने स्लेट खानीबाट निकालेर बझाङ र बैतडीका बिभिन्न ठाउँमा बिक्री हुँदैआएको थियो । मेसिन प्रयोग गरी प्रशोधन गरेको खण्डमा मार्बल समेत बनाउन सकिनेखालको स्लेट खानीलाई वाताबरण परिक्षण नगरी उत्खनन गरेको भन्दै डिभिजन बन कार्यालयले खानीबाट स्लेट निकाल्न प्रतिबन्ध लगाएको छ । बुंङल नगरपालिकाले समेत ओसार पसारमा प्रतिबन्ध लगाएपछि स्थानीयको रोजगार संकटमा परेको छ ।
स्टेल खानीबाट राम्रो आम्दानी गरिरहेका स्थानीयले एकाएक खानी बन्द गर्न पत्राचार भएपछि दुखी बनेका छन् । स्थानीय हरिश बोहराले भन्नुभयो, “हाम्रो बाजेको पालादेखि निकाल्दैआएको स्लेट खानीलाई प्रतिबन्ध गराउनु राम्रो होईन् ।”
खानीबाट बुङ्गल नगरपालिकाका दुई सय जनाभन्दा बढीले प्रत्यक्ष तथा अप्रतक्ष रोजगारी गुमाउनु परेको बताउँदै छिटोभन्दा छिटो खानी सञ्चालनमा पहल गरिनु पर्ने उहाँले बताउनुभयो । स्थानीयबासीले निकालेका लाखौ मुल्य बरावरका स्लेटहरु अहिले पनि खानी नजिकैको बाटोको आसपासमा राखिएको उहाँको भनाई छ ।
गाउँमा रोजगारीको अबसर समेत नभएका रन्नीभिर गाउँबासीका लागि खानी बन्द हुँदा हातमुख जोर्न समेत समस्या भएको स्थानीयको भनाई छ । खानी बन्द हुँदा अधिकाशं स्थानीयबासी रोजगारीका लागि भारत लगायतका बिभिन्न मुलुक धाउनुपरेको स्थानीयको गुनासो छ । खानी बन्द भएको नौ महिना बितिसक्दा पनि स्थानीय सरकारले यसतर्फ चासो नदिएको स्थानीयको गुनासो छ ।
बुङ्गल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत रोकायाले भन्नुभयो, “गैरकानुनी तरिकाले खानी उत्खनन गरेकाले डिभिजन बन कार्यालयले बन्द गर्न लगाएको बताउँदै वातावरण परिक्षण गरी कानुनी प्रक्रिया पुगाएर पछि खानी सुचारु हुने बताउनुभयो । बन कार्यालयले पत्राचार गरेपछि नगारपालिकाले समेत स्लेट ओसारपसारमा रोक लगाएको बताउनुभयो । खानीबाट बर्षेनी लाखौ स्लेटहरु निकालेर झण्डै दुई करोडभन्दा बढी रुपियाँको कारोबार हुनेगरेको स्थानीयको भनाई छ ।