खुला | प्रदेश | समाज |

कपिलबस्तुको दक्षिणी क्षेत्रमा गुइठा प्रयोग गर्नु पर्ने बाध्यता

 

नारद कोहार 

तौलिहवा, पुस ३ गते। कपिलबस्तुको दक्षिणी क्षेत्रमा खाना पकाउनका लागि परम्परागत रुपमा गुइठाको प्रयोग बढ्दै गएको छ । कपिलबस्तु नगरपालिका ६ थुम्हवाकी माला धोवीलाई जाडो शुरु भएसँगै गोठको गोवर जम्म गरेर बस्नु पर्ने बाध्यता छ । धोवीले गोवर मलका लागी खेतमा हाल्न भने संकलन गरेकी होइनन् । उहाँले संकलन गरेको गोवर सुकाएर गुइठा बनाएर दाउराका लागि बाल्न संकलन गरेकी हुन् । उहाँले भन्नुभयो “हाम्रो परिवारीक संख्या ठूलो भएको कारण हामी एलपि ग्यासको सट्टा गुइठाको प्रयोग गर्दै आएको बताउनुभयो ।”

थुम्हवा कि धोवी जस्तै त्यस क्षेत्रका गृहिणीको दिनचार्य हो गोठबाट गोबर संकलन गरेर गुइठा दाउरा बनाउने । बनाएका दाउरा सुकाएर खाना बनाउन प्रयोग गरिने स्थानियवासी बताउछन् । कपिलबस्तुको दक्षिणी भेगका अधिकांश बासिन्दाको दिनचर्या गोबर संकलन गर्ने र गोबरमा भुस पराल राखेर त्यसलाई सुकाएर गुइठा तयार पार्ने गरिएको छ ।

दाउराकै अभावमा गोबरलाई मलका रुपमा नभई दाउरा बनाएर खाना पकाउनु पर्ने बाध्यता रहेको स्थानीय झगरु बराईले बताउनुभयो । सुख्खायाममा गुइठा बनाउने र वर्षायाममा त्यसलाई जोहो गरी राखेर दाउराको रुपमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “पहिला पहिला जंगलबाटै दउरा ल्याए पनि अहिले वनजंगल मासिँदै गएको र दउरा पाउन मुश्किल भएकाले गाईभैँसीको गोबरबाट गुईठाको प्रयोग हुँदै आएको बताउनुभयो ।”

गोबर मल खाना बनाउन प्रयोग गर्नु पर्ने भएपछि यस क्षेत्रका किसानले खेतमा रसायनिक मलको प्रयोगमा जोड दिँदै आएका छन् । जसले खेतको उत्पादनमा ह्रास आएको कृषि विज्ञहरु बताउँछन् । प्रागारिक मलका रुपमा प्रयोग हुने गोबरलाई गुइठा बनाएर दाउराका रुपमा प्रयोग गर्नुभन्दा वैकल्पिक साधन प्रयोग गरेर खाना बनाउन विज्ञहरुको सुझाव रहेको छ ।

स्वास्थ्यकर्मीका अनुसार दाउराका रुपमा गोबर प्रयोग गर्नु स्वास्थ्यका लागि पनि हनिकारक छ । जसले भान्सामा काम गर्नेलाई स्वासप्रश्वास,दम र अन्य फोक्सोसम्बन्धी रोगले च्याप्ने उहाँहरु बताउँनुहुन्छ ।

गुइठालाई विस्थापित गर्ने उद्देश्यले बायोग्याससहित भकारो सुधार कार्यक्रम सञ्चालनमा ल्याएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख उत्तम आचार्यले बताउनुभयो । यही आर्थिक वर्षमा कपिलबस्तुका दक्षिणी भेगका पालिकाहरुसँगको सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।