शुल्क तिर्न सक्नेलाई वृहत खानेपानी, गरिबलाई छैन धारा
गोकर्ण दयाल
बैतडी, मङ्सिर २९ गते । वि.सं. २०१८ सालमा भ्रमणका क्रममा राजा महेन्द्रले बैतडी सदरमुकाममा पु¥याएको खानेपानी अलपत्र परेको छ । धनी, गरिब सबैले निःशुल्क उपभोग गर्दै आएको खानेपानी योजना अलपत्र परेपछि पैसा हुनेले शुल्क तिरेर वृहत खानेपानी योजनाको पानी उपभोग गर्दै आइरहेका छन् भने शुल्क तिर्न नसक्ने समस्यामा परेका छन् ।
बैतडीको दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीको सुतिगाढबाटको मुहानबाट सदरमुकाम क्षेत्र दशरथचन्द नगरपालिका–४, मा खानेपानी पु¥याउन राजा महेन्द्रले भारतको पिथौरागढ जिल्लाबाट जिआईपाईप मगाउनुभएको थियो ।
उक्त खानेपानीको अगुवाई तत्कालीन काँग्रेस नेता ककिसनलाल लेखकले गर्नुभएको उहाँकी धर्मपत्नी तारा लेखकले बताउनुभयो । लेखकले भन्नुभयो, “पहिले जनताको घरमा खानेपानीको धारा जोड्नुपर्छ भनेर उहाँ (किसनलाल)ले आफ्नो घरमा धारा जोड्नु भएन । अहिले उक्त खानेपानी योजना अलपत्र भएको देख्दा दुःख लागेको छ ।”
सदरमुकाम क्षेत्रमा वृहत खानेपानी योजना लागू भएपछि अहिले सदुमकाम क्षेत्रका एकहजार दुईसय भन्दा बढी घरमा महङ्गो शुल्क तिरेर मिटरवाला धारा जोडिएको स्थानीय उपभोक्ता नरेश ठगुन्नाले बताउनुभयो ।
वृहत खानेपानीको धाराको शुल्क तिर्न नसक्नेहरुले वृहत खानेपानीको धारा नपाएको उहाँले बताउनुभयो । धाराको शुल्क तिर्न नसक्ने गरिब परिवारलाई २०१८ सालमा बनेको खानेपानी मर्मत गरेर निःशुल्क पानी उपलब्ध गराउनु पर्ने दशरथचन्द नगरपालिका–४, का शङ्कर टमाटा बताउनुहुन्छ ।
“ठाउँ–ठाउँमा पाईप टुटेका छन् । मुहानको संरक्षण हुन सकेको छैन,” टमटाले भन्नुभयो, “ धनीले त पैंसा तिरेर मिटरवाला धारा जडान गरेका छन् तर, हामी जस्ता एक छाक टार्न धौधौ पर्ने गरिबले पानी किनेर कसरी खाने ?”
मिटरवाला धाराको शुल्क तिर्न नसक्दा सदरमुकाम नजिकैको हलिया वस्तीका १३ परिवारले खानेपानीको धारा जोड्न नसकेको हलिया अगुवा राजुराम भुलले बताउनुभयो ।
भलुलले भन्नुभयो, “वृहत खानेपानीको धारा जोड्न हलियासँग शुल्क हुँदैन, २०१८ सालमा बनेको खानेपानी कसैले मर्मत गरिदिँदैन ।”
नगरपालिकासँग वृहत खानेपानीको धारा जोडिदिन सदरमुकामकै अर्को तोली वस्तीका गरिब, विपन्न दलित समुदायका व्यक्तिले ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाई नभएको स्थानीय कुन्ति वडले बताउनुभयो ।
वि.सं.२०१८ सालमा भारतबाट बोकर ल्याएका जिईपाईप खिया लागेर मक्किएको स्थानीय उपभोक्ता कृष्णसिंह ठुगुन्नाले बताउनुभयो । मर्मत गरिदिन नगरपालिकासँग पटक पटक माग राखे पनि सुनुवाई भएको छैन ।
ठगुन्नाले भन्नुभयो, “वृहत खानेपानी योजनाले सदरमुकाममा पानीको आपूर्ति गरे पनि गरिबको पहुँच पुग्न सकेको छैन । मिटरवाला पानीको मासिक न्यूनतम तीनसय रुपियाँ शुल्क भए पनि एक हजारसम्म शुल्क पुग्छ । गरिबले यति महङ्गो पानी खान सक्दैन । त्यसैले अलपत्र अवस्थामा रहेको राजा महेन्द्रले पु¥याएको खानेपानी मर्मत गरेर गरिबलाई पानी दिनुपर्छ । ”