गाउँमै जीप चढ्न पाएपछि स्थानीय हर्षित
शेरबहादुर सार्की
बाजुरा, पुस ३ गते । बाजुराको दुर्गम गाउँ भनेर चिनिँदैआएको बडिमालिका नगरपालिकाको ५ को मना गाउँका स्थानीयवास गाउँमै जीप चढ्न पाएपछि हर्षित् भएका छन् । पुस्तौंदेखि अहिलेसम्म मना गाउँका स्थानीय सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका थिए । यतीबेला नगरपालिकाले साँफे–मार्तडी लोकमार्ग अन्तर्गत पर्ने जडाङ्गाबाट झण्डै १५ किलोमिटर सडक गाउँमा पुगाएपछि शनिवारदेखि स्थानीयले गाउँबाट जीप सेवा पाएका छन् ।
भीरको बाटोमा ज्यानको जोखिम मोलेर गाउँबाट सदरमुकाम मार्तडी आउजाउ गर्न बाध्य हुँदैआएका त्यहाँका स्थानीयले शनिवारदेखि गाउँमै जीप सेवा पाएपछि अहिले उनीहरुको मुहारमा खुःसी छाएको हो ।
जीप चढ्न घरबाट घण्टौ बाटो हिडेर बल्दे, बाम्का, बेतालमाण्डौ, रिठा बजार लगायतका काउन्टरमा टिकट लिन बाध्य भएका याहाँका स्थानीयले शनिवारदेखि घर आङ्गनमा जीप सेवा पाएपछि मना गाउँवासीमा खुःसी छाएको बडिमालिका नगरपालिका ५ मनाका स्थानीय कविराज साउँदले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कामका लागि भारत, धनगढी, महेन्द्रनगरलगायतका सहर बजारमा जानु पर्दा बिहानै टिकटका लागि घण्टौको बाटो हिँडेर तीपाडा जानु पथ्र्याे, अहिले नगरपालिकाले सडकमा प्राथमिकता दिदै गाउँबाट नै जीप चढ्न पाउँदा समस्याको हटेको छ ।”
साउँदले भन्नुभयो, “बाजुराको अन्य ठाउँभन्दा यो मना गाउँ आलु खेतीका लागि नै उपयोगी मानिन्छ । याहाँको जमिनमा आलु निकै उत्पादन हुने गर्छ । तर यातायताको सुविधा नभएकोले गाउँमा उत्पादन गरेका तरकारी बजारसम्म लान गाह्रो हुन्थ्यो ।”
मनाका स्थानीयलाई केही वर्ष रोप्वेले ढुवानी गर्न सहज तुल्याएको भएपनि त्यसबाट अत्यधिक मात्रामा गाउँमा उत्पादन गरेका तरकारी बजारसम्म पुर्याउन नसकिएको स्थानीयको भनाई छ ।
नगरपालिकाले यतीबेला त्याहाँका स्थानीयको समस्याको समाधान हुनेगरी गाउँमै यातायातका सवारी साधान जीप ट्याक्टर सुचारु गरिदिएपछि अव भने गाउँमा उत्पादन गरेका आलु बजारसम्म लान सहज बनाएको छ ।
स्थानीयवासीको सबैभन्दा पहिलो माग सडक भएकाले गाउँपालिकाले प्रत्येक वर्ष सडकमा लगानी गर्दै आएपछि बल्ल गाउँमा जीप सुचारु गर्न सफल भइएको बडिमालिका नगरपालिका ५ मनाका वडा अध्यक्ष बलबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुयभो, “सडकको पहुँच पुगेपछि अहिले यहाँका स्थानीयले गाउँबाटै जीप चढ्न पाएपछि दंग छन् । निरन्त्रता दिन सहयोगका लागि आवश्यक परेमा वडागाउँपालिका सधै तयार छ । ”
बडिमालिका नगरपालिकाका अन्य सबै वडामा दुइ चार वर्ष पहिले सडक सञ्जालको पहुँच भएपनि मना गाउँमा सडकको पहुँच नहुँदा त्याहाँका स्थानीयवासीलाई सदरमुकाम मार्तडीसम्म आउजाउ गर्न निकै सास्ती खेप्दै आउनुपरेको थियो ।
उहाँले भन्नुभयो, “बाजुराको यो मना गाउँमा एकदमै राम्रो जमिन छ । त्यो जमिनमा आलु निकै उत्पादन हुन्छ । गत वर्ष कृषि ज्ञान केन्द्र बाजुरा र नगरपालिकाको समन्वयमा ४० लाख बराबरको रकम विनियोजन गरेर तरकारी पकेट क्षेत्र घोषण गरेका छौं । ” गाउँमा सडकको पहुँचले उत्पादन गरिएका अर्गानिक आलु जिल्लाका विभिन्न बजारसम्म लान सहज भएको नगरप्रमुख बडुवालले बताउनुभयो ।