हावाहुरीले क्याम्पस भवनको छाना उडाउँदा सात लाखको क्षति
राजन रावत
हुम्ला, पुस ४ गते । गएरातिबाट एक्कासl सुरु भएको हावाहुरीबाट सदरमुकाम सिमकोटस्थित मानसरोवर बहमुखी क्याम्पसको भवनमा छाएको जस्तापाताको छाना उडाएको छ । भवनको हावाहुरीले छाना उडाएपछि कक्षा कोठामा क्षति पुगेर पठनपाठनमा असर पर्ने देखिएको हो ।
उक्त क्याम्पसका सहायक प्रमुख दीपक भण्डारीले रातिबाट सुरु भएको हावाहुरीले तीनवटा जोडिएका कोठाको छाना उडाएर क्षति पुगेको बताउनुभयो । हुम्लामा एकदमै ठूलो हावाहुरी चलेको छ । तीनै कोठाको जस्ता पाताको छाना हावाले उडाएर पच्चीस मिटर पर फालिएको छ ।
उहाँले तीन वटा कोठाको छाना हावाले उडाएपछि क्षति पुगेको बताउँदै आकाश देखिने कोठामा पठनपाठन गर्न पनि नसकिने बताउनुभयो । उहाँले भवनको छाना उडाएपछि प्रहरी घटनास्थलमा पुगेर क्षतिको मुचुल्का पनि तयार पारेको बताउनुभयो । प्रहरीले हावाहुरीबाट छाना उडाएपछि तीनवटै कोठाको गरी सात लाख बराबरको क्षति पुगेको जनाएको छ ।
उहाँले निक्कै बलियो मानिने भवनको छाना उडाएपछि अब क्याम्पस व्यवस्थापनलाई त्यसको मर्मतका लागि बजेटको आवश्यकता खड्किएको बताउनुभयो । जिल्लाको पहिलो उक्त क्याम्पस सामुदायिक क्याम्पस हो । तीन वटा मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायको पठनपाठन हुने गर्छ ।
क्याम्पसको कोरोना सङ्क्रमणयता भने भौतिक उपस्थितिमा पठनपाठन हुनसकेको छैन । यता धेरै हावाहुरी चलिरहेको कारण अन्यत्र भने क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।