खुला | प्रदेश |

अटोरिक्सा चालकद्वारा जोरबिजोर प्रणालीको विरोध

अविनाश चौधरी
धनगढी, पुस ४ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अटोरिक्सा चलाएर गुजारा गर्दैआएका अटोचालक मजदुर आन्दोलित भएका छन् । धनगढीमा लागू गरिएको जोरबिजोर प्रणालीको विरोध गर्दै उनीहरु आन्दोलित भएका हुन ।

धनगढीमा अत्यधिक अटोरिक्साको चाप बढेपछि बजारमा भीडभाड बढेको र ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जोरविजोर प्रणाली लागू गरेको थियो । पुस १ गतेदेखि जोरविजोर प्रणाली लागू गरिएपछि आफूहरु समस्यामा परेको र जोरविजोर प्रणाली नमान्ने अटो व्यवसायीहरुको जिकिर छ ।

जोरबिजोर प्रणालीको विरोध गर्दै उनीहरुले आइतबार धनगढीको पार्कमोड रोडमा अटो तेस्र्याएर आन्दोलन गरेका छन् । बाटोमा अटो तेस्र्याएपछि केही समय आवतजावतमा समस्या भएको थियो । धनगढीमा ट्राफिक समस्याको कारक अटोरिक्सा नरहेको अटो चालकको भनाइ छ । उनीहरुले अटो रोकेर समस्याको समाधान नहुने भन्दै सडक चौडा बनाउनु पर्ने माग गरेका छन् ।

अटो व्यवसायी सङ्घका अध्यक्ष मीनराज जोशीले अटो व्यवस्थापन गर्नुपर्ने एउटा पाटो रहे पनि ट्राफिक समस्या हुनुको मुख्य कारण साँघुरो सडक रहेको बताउनुभयो । उहाँले अटो रिक्सा रोक्दा झन समस्या हुने भएकाले दीर्घकालीन रुपमा समस्या समाधानको बाटो फराकिलो बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।

‘कोरोना महामारीका कारण त्यसै पनि अटोरिक्सा व्यवसाय प्रभावित छ’, उहाँले भन्नुभयो, ‘अटो नै चलाउन नपाएपछि हामीले अटो किन्दा लिएको ऋण कसरी तिर्ने, कसरी गुजारा गर्ने ?’