एमाले कर्णालीले पुस २९ गते प्रदेश अधिवेशन प्रतिनिधि छनौट गर्दै
मुना हमाल
सुर्खेत, पुस ५ गते । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले पुस २९ गते प्रदेश अधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न प्रदेश कमिटीको बैठकले माघ ८ गते हुने प्रदेश अधिवेशनका लागि प्रदेश निर्वाचन क्षेत्रलाई भौगोलिक आधार बनाएर प्रदेश अधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।
एमालेले सोमबार पत्रकार सम्मेलन गरी प्रदेशका अध्यक्ष विनोदकुमार शाहले एक तिहाई महिलाको अनिवार्य प्रतिनिधित्व हुनेगरी १५० सदस्य बराबर एक जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको जानकारी दिनुभयो । कर्णाली प्रदेशमा ६२ हजार १४२ सांगठनिक सदस्य छन् । प्रदेश अधिवेशनका लागि करिब ४१५ प्रतिनिधि छनोट हुनेछन् ।
शाहकाअनुसार दलित प्रतिनिधिको हकमा १०० सदस्य संख्या बराबर एक जना प्रतिनिधि छनोट गर्ने र दलित प्रतिनिधिको हकमा पनि १०० सदस्य संख्या बराबर एक तिहाई महिला छनोट गर्नुपर्ने निर्णय गरिएको छ । यस्तै बैठकले अधिवेशन सम्पन्न गर्न प्रदेश अध्यक्ष शाहको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन गरिएको छ । सदस्यमा लालबहादुर महतरा, कमल शाही, टेकराज पछाई, रुपा शाही, दश वटै जिल्ला कमिटीका अध्यक्षहरु, अन्य सदस्यहरु रहेका छन् ।
प्रदेश अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक तथा सांगठनिक प्रतिवेदन मस्यौदा कमिटी पनि गठन गरिएको उहाँले बताउनुभयो । प्रदेश अध्यक्ष शाहको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो । सदस्यमा लाल बहादुर महतरा र चुडामणी शर्मा रहनु भएको छ ।
यस्तै केन्द्रीय अन्तरपार्टी निर्देशन (अपानी) अनुसार पुस २३ गते जिल्ला अधिवेशन गर्ने पनि निर्णय गरेको छ । बैठकले प्रदेश कमिटी सदस्यमा कलम शाहीलाई मनोनित गरेको छ । बैठकले एमाले कर्णाली प्रदेशसभा संसदीय दलको विधान २०७७ लाई पनि अनुमोनद गरेको जनाएको छ ।