खुला | प्रदेश |

कालीकोट रास्कोट नगरमा सडक कालोपत्रे हुँदै


प्रेमराज सिम्खडा
कालीकोट, पुस ७ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको मूल सडक कालोपत्रे हुन सुरु भएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिकाको मूल सडक शान्तिघाट बडिमालिका सडकखण्डको १२ किलोमिटर सडक कालोपत्रे हुन सुरु भएको छ । मङ्गलवार एक कार्यक्रमको आयोजना गरी सडक कालोपत्रको काम सुरु गरिएको छ ।
रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले सडक कालोपत्रको काम सुरु गदै तोकिएको समयमै सडक कालोपत्रेको काम सक्न निर्देशन दिनुभयो । उहाँले नगरपालिकाले आफ्नो नगरको मूल सडक पूरै कालोपत्रे गर्ने योजना थियो । तर आर्थिक अभावले गर्दा यो पटक ११.५ किलोमिटर सडकका लागि मात्र ठेक्का भएको र आगामी वर्षमा पनि प्रदेश सरकारमार्फत बाँकी ९ किलोमिटर सडक कालोपत्रे गर्न अनुरोध गर्ने बताउनुभयो ।
उहाँले कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्रीले रास्कोटमा मत माग्न आउदा नै रास्कोटको सडक कालोपत्रे गर्ने वचन दिएकै कारणले यो काम सुरु भएको समेत वताउनुभयो । जम्मा भ्याटसहित २५ करोड ५५ हजार ५१२ रुपियाँ ४२ मा सडक कालोपत्रे गर्नुपर्छ । यसको अवधि सम्झौतामा चार वर्षको राखिएको निमार्ण कम्पनी केएस शनिदेव जेभि महेन्द्रनगर कन्चनपुरका प्रतिनिधि अभिषेक श्रेष्ठले बताउनुभयो ।
उहाँले आफूले तोकेको समयमै सडकको कालोपत्रे सक्ने बताउनुभयो । सडक कालोपत्रेको गुणस्तर लगायतका बारेमा रेखदेख सामाजिक पूर्वाधार विकास कार्यालयले गर्नेछ । यो सडक ग्रामीण पहुँच कार्यक्रम र्याप थ्रिले ३६ करोड खर्च गरेर पहिलो पटक निर्माण गरेको थियो ।
वि.सं.२०७२ सालदेखि २०७४ माघसम्म १८ किलोमिटर सडक निर्माण गरेर नगरपालिकालाई हस्तान्त्ररण गरेको थियो । मानवीय स्राेतबाटै निर्माण भएको यो सडक जोखिम न्यूनीकरणका क्षेत्रमा विशेष ध्यान दिइएको थियो । सडकको दुवैतर्फ ग्याबिन जालीका साथै पहिरो रोक्नका लागि भित्तामा घाँससमेत रोपेर हरियाली जमिन जस्तै बनाइएको थियो । तर पछिल्लो समय डबल कटिङका नाममा सडकलाई जीर्ण पारिएको थियो । अब कालोपत्रे भएमा केही सुधार हुने आशा रास्कोटका नागरिकले गरेका छन् ।