खुला | प्रदेश |

गाउँघर क्लिनिकमा घाँस परालको थुप्रो, उपचारमा समस्या

गोकर्ण दयाल
बैतडी, पुस ७ गते । सुत्केरी व्यथा लागेका महिलालाई स्वास्थ्य संस्था लैजान स्ट्रेचर खोज्दै गाउँघर क्लिनिक पुग्दा घाँस परालको थुप्रो भेटिएपछि गोठमा सुत्केरी हुन बाध्य महिलाले जन्माएको शिशुको मृत्यु भएको छ ।

यो दुर्शशा सिगास गाउँपालिका– १, बेसरास्थित गाउँघर क्लिनिकको हो । सुत्केरी व्यथा लागेको २४ घण्टासम्म स्ट्रेचर नभेटिदा सोही गाउँकी जानकी भट्ट गोठमा सुत्केरी हुँदा शिशुको मृत्यु भएको हो ।

गाउँघर क्लिनिकमा स्ट्रेचर, सिटामोल औषधि, गर्भवति महिलाको चेकजाँच, बच्चाको तौल लिने, परिवार नियोजनका अस्थायी साधनजस्ता सेवा उपलब्ध हुने भएपनि सिगास १, बेसरास्थित गाउँ घर क्लिनिकमा घाँस र पराल राखिएको छ ।

स्थानीय पाँचवटा टोल बेसरा, भौनी, अङडेगाडा, दाबलगायत गाउँका करिब दुईसय घर परिवारलाई लक्षित गरेर निर्माण भएको गाउँघर क्लिनिकमा औषधि पाउन छाडेपछि स्थानीयले घाँस पराल राख्न थालेका हुन् । गाउँघर क्लिनिकमा सिटामोल नपाउँदा स्थानीयवासी हिँडेर छिमेकी पाटन नगरपालिका– ८, खोड्पे जानुपर्ने वाध्यता रहेको स्थानीय नरेश भट्टले गुनासो गर्नुभयो ।

संघीयता आएपछि गाउँपालिका पुग्नसमेत दुई दिन लाग्नेगरेको यहाँका स्थानीयको गुनासो छ । “जिल्ला सदरमुकाम बरु एक दिनमै पुगिन्छ तर आफ्नै पालिकामा गएर गुनासो गर्न दुईदिन हिँड्नु पर्छ” एक स्थानीयले भन्नुभयो ।

गाउँघर क्लिनिकका विषयमा सिगास गाउँपालिकाका स्वास्थ्य संयोजक घनश्याम बोहराले गाउँघर क्लिनिकका लागि स्ट्रेचरलगायत औषधि पठाएको बताउनुभयो । “गाउँपालिकाबाट स्ट्रेचर, कुर्सिलगायतका सामग्री पठाका छौं,” स्वास्थ्य संयोजक बोहराले भन्नुभयो “के भएको रहेछ ? गाउँघर क्लिनिक व्यवस्थापन समिति र वडा अध्यक्षसँग बुझेर समस्या समाधान गर्नेछौंं ।”

वडा अध्यक्ष धामीले भन्नुभयो, “गाउँघर क्लिनिकमा पराल राखेका छन् । वडामा रहेको स्वास्थ्य संस्थाले अनुगमन गरेर झ्याल ढोका लगाउने र स्ट्रेचरको व्यवस्था गर्न लगाउँछु ।”