सुदूरपश्चिम प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको अवधारणा स्वीकृत
अविनाश चौधरी
धनगढी, पुस ८ गते । सुदूरपश्चिम प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रथम पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७८–८९ देखि आर्थिक वर्ष २०८२–८३ सम्म) को संक्षिप्त अवधारणा स्वीकृत गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रथम पञ्चवर्षीय अवधारणा मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो । यसैगरी, मन्त्रिपरिषद् बैठकले अछामको रामारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकाको वडा विभाजनको प्रस्ताव स्वीकृत गरेर विभाजनका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
रामरोशन गाउँपालिकामा सातवटा वडा छन् । त्यहाँ वडा विभाजन गरेर १२ वटा वडा बनाइने प्रस्ताव गरिएको छ । यसैगरी, मष्टा गाउँपालिकाको दुईवटा वडा विभाजनका लागि आएको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री जोशीले बताउनुभयो । मष्टामा नौवटा वडा छन् । वडा विभाजन गरेर ११ बनाउने प्रस्ताव गरिएको छ ।
यस्तै, राजपत्र छपाइ गर्ने तीन जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा सो प्रस्ताव पेस गरेको थियो । राजपत्र छपाइमा दैनिक ज्यालामा काम गर्ने कर्मचारीलाई अस्थायी दरबन्दीमा राख्न गरिएको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको मन्त्री जोशीले बताउनुभयो ।
त्यस्तै, उद्योग तथा फर्म नवीकरण गर्ने समयावधि पुस मसान्तसम्म थप गर्ने र पाँच प्रतिशत विलम्ब शुल्क लिएर जरिवाना मिनाहा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।