चितुवा प्रभावित क्षेत्रमा विद्युतीकरणको माग
गोकर्ण दयाल
बैतडी, पुस ९ गते । चितुवा प्रभावित बैतडीको तल्लोस्वराड क्षेत्रका वासिन्दाले गाउँमा विद्युतीकरणको माग गरेका छन् । बिजुलीका माग राख्दै यसअघि गत असारमा अनशन बसेका बैतडीको मेला्ली नगरपालिका–८ र ९, का विशालपुरवासीले विद्युतीकरणको माग राख्दै पुनः ज्ञापनपत्र बुझाएका छन् ।
मेलौली नगरपालिका– ९, का वडा सदस्य भीम भट्टले बैतडीको मेलौली नगरपालिकाको विशालपुर क्षेत्र नरभक्षी चितुवा प्रभावित क्षेत्र भएकाले गाउँमा बिजुली आवश्यक भएको बताउनुभयो । साँझ बिहान अँध्यारोमा चितुवा गाउँ पस्नेगरेको उहाँले बताउनुभयो ।
मैलौली नगरपालिकाको विशालपुरलगायतका क्षेत्रमा चितुवाले हालसम्म २६ जना बालबालिकाको ज्यान लिइसकेको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ । बिजुलीको माग राखेर गत असारमा अनशन बसेका वडाका जनप्रतिनिधि र स्थानीयलाई विद्युत वितरण केन्द्र बैतडी र मेलौली नगरपालिकाले विशालपुरमा विद्युत विस्तार गर्ने सहमति गरेपछि स्थानीयले अनशन तोडेका थिए ।
बैतडीको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपलिकासहितका स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइन विस्तार भइरहेको भए पनि विशालपुरमा लाइन विस्तार नभएपछि गत असारमा वडाका जनप्रतिनिधि र स्थानीयवासी अनशन बसेको मेलौली नगरपालिका– ९, का वडा सदस्य भीम भट्टले बताउनुभयो ।
वडा सदस्य भट्टले भन्नुभयो, “विद्युत विस्तार गर्ने सहमतिअनुसार छ महिनासम्म पनि गाउँमा बिजुली बलेको छैन । सहमतिअनुसार गाउँमा विद्युत विस्तार नभए हामी पुनः आन्दोलनमा जान बाध्य हुन्छौं ।” बैतडीमा ४५ हजार घरधुरीमध्ये हालसम्म १२ हजार घरधुरीमा मात्र बिजुली पुगेको विद्युत वितरण केन्द्र बैतडीको तथ्याङ्क छ ।
बैतडी र दार्चुलाको सीमामा रहेको चमेलिया जलविद्युतबाट ३० मेगावाट विद्युत उत्पादन भए पनि बैतडीको ३३ हजार घरधुरी झरो र टुकी बाल्न बाध्य भएको नागरिक समाज बैतडीका अध्यक्ष गणेश ठकुराठीले बताउनुभयो । अध्यक्ष ठकुराठीले भन्नुभयो, “गत निर्वाचनमा नेताहरुले गाउँ गाउँमा बिजुली पुगाउने आश्वासन दिए पनि बैतडीको बहुसङ्ख्यक नागरिक टुकी बाल्न बाध्य छन् ।”