खुला | राजनीति | प्रदेश |

साठी वर्षपछि काँग्रेस केन्द्रीय समितिमा अछामको प्रतिनिधित्व

शिवराज ढुङ्गाना
अछाम, पुस ९ गते । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा अछामबाट ६ दशकपछि प्रतिनिधित्व भएको छ । खसआर्यतर्फकोे केन्द्रीय सदस्यमा २०१४ मत प्राप्त गरी पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह निर्वाचित हुनुभएपछि काँग्रेस अछामको केन्द्रीय समितिमा प्रतिनिधित्व भएको हो ।

यसअघि २०१७ सालमा वीपी कोइराला नेतृत्वको काँग्रेस केन्द्रीय समितिमा अछामबाट दिलबहादुर बुडथापाको प्रतिनिधित्व भएको काँग्रेस अछामका सहसचिव तथा प्रवक्ता वेदप्रकाश तिमिल्सैनाले बताउनुभयो ।

२०४८ र २०५६ मा अछामको सांसदमा निर्वाचित शाह यसअघिका महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनमा पराजित हुनुभएको थियो । गिरिजाप्रसाद कोइरालाका नेतृत्वमा शाहले २०५६ असारदेखि चैतसम्म राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

काँग्रेसको अघिल्ला महाधिवेशनमा शाह, बलबहादुर कुँवर, देवराज देवकोटालगायतले केन्द्रीय कार्यसमितिका लागि चुनाव लडे पनि निर्वाचित हुन सक्नुभएको थिएन । चौधौ महाधिवेशनमा अछामबाट केन्द्रीय सदस्यका लागि चुनाव लड्नुभएका बलबहादुर कुँवर र गणेशबहादुर विष्ट पराजित हुनुभयो ।