खुला | प्रदेश |

सीमा क्षेत्रको अपराध नियन्त्रण गर्ने सहमति

लोकेन्द्र जोशी
दार्चुला, पुस ९ गते । भारतको पिथौरागढ जिल्ला अन्तर्गत जोलजिवि एसएसबी क्याम्पमा नेपाल–भारत दुई देशका सुरक्षा अधिकारीहरुबीच संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा सीमा नाकामा हुने सीमा अपराधलाई नियन्त्रण गर्ने विषयमा सहकार्य र समन्वय गर्ने सहमति भएको अधिकारीहरुले बताउनुभएको छ ।

नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्लाका सुरक्षा अधिकारी सम्मेलित बैठकमा सीमामा हुने मानव बेचबिखन, चोरी तस्करी र लागु औषधको कारोबार तथा ओसारपसार नियन्त्रण गर्ने, संकास्पद सूचनाहरु आदानप्रदान गर्ने र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको छ ।

सीमा पुलमा नेपाली सुरक्षाकर्मी तथा भारतीय सुरक्षाकर्मीबाट गरिने व्यवहारलाई नागरिकमैत्री बनाउने विषयमा पनि छलफल भएको दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो । भारतीय सीमा क्षेत्रमा नागरिकमाथि सुरक्षाकर्मीबाट दुव्र्यवहार भोग्नुपरेको गुनासो बढ्दो छ । दोहोरो नागरिकता लिएका नागरिकमाथि निगरानी गर्दै कानुनी कारबाही गर्ने सहमति पनि भएको छ ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति (एसपी) नरेन्द्र बम, नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मनोहरप्रसाद भट्ट, सीमा चौकीहरु र सशस्त्र बीओपीका प्रमुखहरुको सहभागिता थियो ।

भारतकोतर्फबाट ५५ नम्बर बटालियन पिथौरागढका कमान्डेन्ट एसके शर्मा, जोलजिवि थानाका इन्सपेक्टर प्रदिप कुवरलगायतको सहभागिता थियो । नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच बेलाबेला सीमा समन्वय बैठक बस्दैआएको छ । कोरोना भाइरसको महामारीका कारण गत बर्ष बस्न नसकेको बैठक यो बर्ष बसेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।