ऐतिहासिक गढीको संरक्षणका लागि पदमार्ग निर्माण सुरु
बाबुराम शर्मा
चरीकोट, पुस ९ गते । दोलखाको तामाकोसी गाउँपालिकाले यहाँ रहेको ऐतिहासिक गढीको संरक्षण तथा सम्वद्र्धनका लागि सुविधा सम्पन्न पैदलमार्ग निर्माण कार्य सुरु गरेको छ । गाउँपालिकाको सातवटै वडाको सङगमस्थलका रुपमा रहेको सो गढी संरक्षणका लागि कालीदेवी मन्दिर–देउरालीगढी–हिले गढीसम्मको करिब १५ किलोमिटर लामो सो पदमार्गको निर्माण सुरु गरिएको पालिका अध्यक्ष ईश्वचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
उहाँकाअनुसार यो वर्ष संघको साढे तीन करोड र पालिकाको दुई करोड २४ लाख ३५ हजार रुपियाँको लागतमा करिब चार किलोमिटर सुविधा सम्पन्न पदमार्ग निर्माण गर्न लागिएको हो । बहुवर्षीय रुपमा १५ किलोमिटर पदमार्ग निर्माण गरिने लक्ष्य राखिएको छ । पदमार्गका दुवैतर्फ रेलिङ रहनुकासाथै बीच–बीचमा शौचालय, धारा समेत व्यवस्था गरिने बताइएको छ ।
पदमार्गको शोभा बढाउनेगरी पुरातत्वको करिब एक करोड रुपियाँको लागतमा पुरातात्विक काली मन्दिर निर्माण भइरहेको छ । गत वर्ष पालिकाले सो गढीको संरक्ष्णका लागि घेरबार गरिसकेको छ । नजिकमा आकर्षक मन्दिर पनि निर्माण भएको जानकारी दिँदै पालिका अध्यक्ष पोखरेलले भन्नुभयो, “सुनसान रहेको यो स्थलमा दैनिक बीस पच्चीस जनाको जमघट हुन थालेको छ । केही होटलहरु सञ्चालन भई आयआर्जन समेत हुन थालेको छ । यो पदमार्गले अझ पर्यटकको विस्तार हुने अपेक्षा राखिएको छ ।”
घोर्नालीसम्म पुग्ने पदमार्गमै पर्ने गोरेनागीमा पोखरी, वनभोजस्थल, खेलमैदान समेत निर्माण भइसकेको पनि उहाँले जानकारी दिनुभयो । पहुँच पुगेको स्थानमा मात्र विकासे काम हुने परिपाटीको अन्त्य गर्दै सबै स्थानमा विकास निर्माण पुगाई आयआर्जन गर्नसक्ने वातावरणका लागि पनि पदमार्ग निर्माण भएको बताइएको छ ।
अङग्रेजको लडाइँ हुँदा सिन्धुली गढी, मेलुङ गढी, सदरमुकाम चरीकोटमा लडाई डाँडो समेत हुँदा यहाँ पनि त्यै समयमा गढी बनेको र अहिले पनि केही भग्नावशेष रहेका स्थानीयहरु बताउँछन् ।