खुला | प्रदेश |

बैगुनधुरामा अस्थायी प्रहरी चौकी स्थापना

लीला झापाली
बिर्तामोड, पुस ९ गते । नेपाल भारत सीमा क्षेत्रस्थित झापाको गौरादह नगरपालिका ९, बैगुनधुरामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । लामो समयदेखिको बैगुनधुराबासीको मागलाई सम्बोधन गर्दे जिल्ला प्रहरी कार्यालय झापाले बिहिबारदेखि बैगुनधुरामा अस्थाई प्रहरी चौकीको स्थापना गरेको हो ।

लगभग १० हजार जनसंख्या रहेको वडामा यसअघि करिव १८ किलोमिटर दूरीमा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले सो क्षेको सुरक्षा प्रवन्ध हेर्दै आइरहेको थियो । वाढीको प्रकोप र चौपाया चोरी हुने समस्याले पीडित यस क्षेत्रका स्थानीयवासी प्रहरीको प्रत्यक्ष उपस्थितिमा सुरक्षित महसुस गरेको वडाअध्यक्ष सीताराम भट्टराईले बताउनुभयो ।

प्रहरी कार्यालय स्थापनाका लागि त्यहाँका स्थानीयले यसअघि जिल्ला प्रहरी, प्रदेश प्रहरी र संघीय प्रहरी कार्यालयमा लिखित माग गरेको वडाअध्यक्ष भट्टराईले बताउनुभयो । स्थानीयको मागलाई सम्बोधन गर्दै बैगुनधुरामा प्रहरीको भौतिक उपस्थिति राख्न अस्थाई प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले बताउनुभयो ।

प्रहरी सहायक निरीक्षक कुमार कटुवालको नेतृत्वमा प्रहरीले बिहिबारदेखि नै नव स्थापित अस्थाई प्रहरी चौकीमा जनताको सुरक्षा सुरु गरेको प्रहरी प्रमुख भट्टराईको भनाई छ । प्रहरी वस्नकै लागि यस क्षेत्रमा स्थानीय दाताले ५ कठ्ठा जग्गा दान गरेका थिए । तर आवश्यक बजेट निकासा नभएपछि हाललाई स्वास्थ्य चौकीको भवनलाई कार्यालय सञ्चालनका लागि प्रयोग गरिएको छ । विना दरवन्दीका झापामा अस्थायी प्रहरी चौकीको सङ्ख्या १३ पुगेको प्रहरी कार्यालय झापाले जनाएको छ ।