ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात
चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ९ गते । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । शुक्रबार बिहानदेखि हिमाली क्षेत्रमा हिमपात शुरु भएको हो । उच्च हिमाली क्षेत्रसँगै ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली बस्तीसम्म हिमपात भएको स्थानीयले बताएका छन् । जिल्लाकै उच्च हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका– ७ ओलाङ्चुङगोलाको याङ्मा (४,२०० मिटर मिटर), वडा ६ लेलेपको घुन्सा (३,४०० मिटर), फले (३,१५० मिटर) मा हिउँ परेको छ ।
तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमै शुक्रबार अपराह्नपछि हिउँ पर्न थालेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । वालुङकाअनुसार ओलाङ्चुङगोलामा हिउँ पर्नेक्रम जारी छ । त्यस्तै घुन्सामा बाक्लो हिउँ परेको स्थानीय पेमा शेर्पाले जानकारी दिनुभयो । घुन्सा बस्तीमा बिहीबार रातिदेखि नै हिउँ पर्न थालेको शेर्पाले बताउनुभयो ।
उहाँकाअनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने घुन्सा, फलेलगायतका बस्तीहरुमा निरन्तर हिमपात भइरहेको छ । बस्तीसम्म नै हिउँ परेपछि स्थानीयको जनजीवन प्रभावित बन्दैगएको उहाँले जानकारी दिनुभयो । हिमपातपछि चिसोका कारण सर्वसाधारण घर बाहिर निस्कनलाई समस्या भएको बताएका छन् । पशुचौपाया लाई पनि चरनमा समस्या भएको स्थानीयको भनाई छ ।
केही दिन अघिदेखि नै चिसो बढ्न थालेपछि घुन्सा आधारभूत विद्यालयसमेत गत सातादेखि बन्द गरिएको शिक्षक केल्साङ शेर्पाले जानकारी दिनुभयो । चिसोसँगै हिमपात सुरु भएपछि हिमाली बस्तीका बासिन्दा न्यानो कपडा र आगो तापेर घरभित्रै बस्न थालेको शेर्पाले बताउनुभयो ।
यता प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा समेत हिमपात भएको छ । पुजारी डिल्ली आचार्यकाअनुसार पाथीभरा धाम परिसरमा करिव एक फिट बढी हिउँ जमेको छ । माथिल्लो फेदी, तल्लो फेदी र काफ्ले पाटीसम्म नै हिउँ परेको छ । दुई हजार ४०० मिटर उचाइ रहेको सुकेटार विमानस्थल क्षेत्रमा समेत सामान्य हिउँ परेको स्थानीय रुद्र तिवारीले जानकारी दिनुभयो ।
जिल्लाको खोक्लिङ, साँबा, पापुङ, फाकुम्बा, निघुरादिन, साँघु, कालीखोला, मामाङ्खे, याम्फुदिन, खेबाङलगायत गाउँको उच्च क्षेत्रमा बाक्लो हिउँ परेको छ भने हिउँ पर्नेक्रम जारी रहेको स्थानीयले बताएका छन् । यसरी उच्च हिमाली क्षेत्र र बस्तीमा हिमपात शुरु भएपछि चिसोले सिङ्गो जिल्लाको जनजीवन प्रभावित छ ।
सदरमुकाम फुङ्लिङ बजारमा समेत चिसो बढेकाकारण मानिसको चहलपहल घटेको छ । यता शुक्रबार साँझपछि सदरमुकामसहित जिल्लाका विभिन्न ठाउँमा सामान्य वर्षासमेत भएको छ । हिमपात र वर्षाका कारण जिल्लाको जनजीवन थप प्रभावित बन्दैगएको स्थानीयको भनाई छ ।