खुला | प्रदेश |

हिउँपानी पर्दा चिसोले जनजिवन प्रभावित

सन्तोष राउत
सोलुखुम्बु, पुुस ९ गते । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमापात र तल्लो क्षेत्रमा बाक्लो कुहिरो लागेर सिमसिम पानी परेपछि जनजिवन प्रभावित बनेको छ । शुक्रबार दिउँसोदेखि मौसममा खराबी आएर हिँउपानीका कारण चिसो बढ्दा स्थानीय बासिन्दा तथा चौपायाहरु प्रभावित बनेका हुन् ।

खुम्बुक्षेत्रमा हिमपात भइरहेको छ भने सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेकोले चिसोमा अत्यधिक वृद्धि हुँदा जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् । सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिके डाँडा, टाक्सिन्दु, वेनी जुभिङ्गलगायत आधा दर्जन डाँडासहित आसपासका क्षेत्रमा समेत हिउँ परेको छ ।

लामो समयपछि हिउँपानी परेकाले कृषकहरुमा भने उत्साह जागेको छ । आलु र मकै रोप्ने समय भएकाले अहिलेको पानीले फाइदा पुग्ने कृषकहरुको भनाई छ । बल्ल अब मकै सजिलै उम्रने सल्लेरीका कृषक पेशल थापाले बताउनुभयो ।

यस वर्षको चिसो ह्वात्तै बढेपछि सदरमुकाम सल्लेरी र आसपासका स्थानीय बासिन्दालाई घर बाहिर निस्किन समस्या भएको । ‘घाम लाग्दा गर्मी हुँने पानी पर्दा चिसो हुने, अहिले हिउँ पर्दा त अत्यधिक चिसो बढेको छ’ तामाखानीका चेतबहादुर मगरले भन्नुभयो ।

चिसोका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । हिँउले गर्दा मानिसलाईभन्दा पशुपंक्षीलाई कष्ट भएको स्थानीयको भनाई छ । चिसोले विषेशगरी बालबालिका तथा बृद्धबृद्धालाई समस्या परेको छ ।