खुला | प्रदेश | समाज |

ताप्लेजुङको घुन्सा र ओलाङ्चुङगोलामा हिमपात जारी


चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा शुक्रबारदेखि शुरु भएको हिमपात अहिले जारी रहेको छ । स्थानीयका अनुसार उच्च डाँडाकाँडासहित हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा र घुन्सामा हिमपात जारी रहेको हो ।
जिल्लाकै उच्च हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मा (४,२०० मिटर मिटर)मा शनिबार विहानैदेखि हिउँ पर्ने क्रम जारी रहेको छ । त्यस्तै ओलाङ्चुङगोला, फक्ताङ्लुङकै वडा नं. ६ लेलेपको घुन्सा (३,४०० मिटर) र फले (३,१५० मिटर) मा पनि विहानैदेखि हिउँ परिरहेको स्थानीयले बताएका छन् ।
ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङका अनुसार शुक्रबारदेखि त्यहाँ हिमपात शुरु भएको हो । शुक्रबार साँझ अबेरसम्म ओलाङ्चुङगोलामा हिउँ परेको थियो भने शनिबार विहानदेखि पुनः शुरु भएको वालुङले बताउनुभयो । उहाँका अनुसार ओलाङ्चुङगोला बस्तीमा अहिले करिव आधा फिटसम्म हिउँ जमिसकेको छ । विहानैदेखि सामान्य रुपमा हिउँ परिरहेको उहाँले जानकारी दिनुभयो ।
्यस्तै घुन्साका स्थानीय पेमा शेर्पाका अनुसार घुन्सा र नजिकैको फले बस्तीमा पनि शनिबार बिहानै देखि हिउँ पर्ने क्रम जारी रहेको छ । घुन्सामा निक्कै बाक्लो हिउँ परिरहेको शेर्पाले बताउनुभयो । उहाँले विगतको अनुभव अनुसार हिउँपर्ने मौसम लम्बिने छाँटकाँट रहेको बताउनुभयो । उहाँका अनुसार घुन्सा र फलेमा पनि करिव आधा फिट हिउँ जमेको छ ।
यसरी जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो निक्कै बढेको र चिसाले जनजीवन प्रभावित बन्दै गएको छ । हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा, घुन्सा र फले लगायतका बासिन्दा न्यानो कपडा लगाउनुका साथै आगो तापेर घरभित्रै बस्दै आएका स्थानीयको भनाइ छ । त्यहाँका सर्वसाधारण आवश्यक काम परेमा मात्र घरबाहिर निस्कने गरेका उनीहरु बताउँछन् ।
यता तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि सामान्य हिउँ परिरहेको बताइएको छ । उच्च हिमाली क्षेत्रमा हिउँ परेपछि साथै अहिले पनि हिमपात जारी रहँदा जिल्ला चिसो भने ह्वात्तै बढेको छ । चिसोका कारण सदरमुकाम फुङ्लिङ बजारमा चहलपहलसमेत निक्कै कम भएको छ ।
उता पाथीभरा क्षेत्रमा हिमपात भए पनि शनिबार बिहानैदेखि तीर्थयात्री भने दर्शन गर्न गइरहेका छन् । देवीको दर्शनसँगै हिउँमा रमाउने (खेल्ने) उद्देश्यले तीर्थयात्री चिसोको वास्ता नगरी पाथीभरा जाने गरेको पाइएको छ । फेदी बजारका स्थानीय व्यवसायी राजेन्द्र महतका अनुसार हेलिकप्टर र स्थलमार्ग हुँदै तीर्थयात्राी पाथीभरा गएका छन् । शनिबार बिहानै सदरमुकामदेखि तीर्थयात्री बोकेर हेलिकप्टरले चार उडान भरेको छ ।