खुला | समाज |

नेपालमा २२ प्रजातिका चरा लोप, तराईमा भँगेरा लोप हुँदै


विजयकुमार साह
ढल्केवर, पुष ११ गते । धनुषालगायत तराईका घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल निकै कम देखिने गरेको छ । बढ्दो तापक्रम र मानिसले मासुको रुपमा प्रयोग गर्न थालेपछि भँगेरा कम देखिएका हुन् ।

घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा तापक्रमका कारण तराई क्षेत्रबाट लोप हुने सङ्घारमा पुगेको बताइएको छ । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकी मर्ने गरेको गत बुधबार धनुषाको ढल्केबरमा आयोजित वन्यजन्तुको अवैध व्यापार न्यूनीकरणसम्बन्धी कार्यक्रममा चरा विज्ञहरुले बताउनुभयो ।

हुलका हुल देखिने भँगेरा हाल कम मात्रै देखिने गरेको स्थानीयवासीको भनाइ छ । तराईका जिल्लामा केही वर्षदेखि ४० डिग्रि सेल्सियस भन्दा बढी तापक्रम पुग्ने गरेको छ ।
परम्परागत घरमा भँगेरालाई गुँड लगाउन र बस्नका लागि पर्याप्त ठाउँ हुन्थ्यो चराचुङ्गी तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्य गर्दैआएका मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले भन्नुभयो । हाल बन्ने आधुनिक पक्की घरमा भँगेराले गुँड लगाउने र बस्ने ठाउँ नहुँदा कम हुँदै गएका हुन् ।

बढ्दो ध्वनि, धुवाँ र माटो प्रदूषणका कारणसमेत भँगेराका प्रजाति लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । भँगेराले आहाराका रुपमा रुचाउने कीरा फट्याङ्ग्रा र खेतमा छरेको अन्न हो । खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढेपछि भँगेराको प्रजातिसमेत त्यसको चपेटामा परेको अध्यक्ष मण्डलले भन्नुभयो ।

भँगेराले खेतबारीमा विषादीका कारण मरेका कीरा फट्याङ्ग्रा र छरेको अन्न खाँदा मर्ने गरेका छन्’ अध्यक्ष मण्डलले भन्नुभयो । गाँउ शहर भएर बग्ने नदीमा उद्योगबाट निष्कने रसायन मिसाइएको पानी र ढलको पानी मिसाउने गरिएकाले पानी प्रदूषित हुने गरेको छ, जुन पानी भँगेराले प्रयोग गर्ने भएकाले यसबाट भँगेरा मर्ने गरेका छन् ।

अध्यक्ष मण्डलले नेपाल हाल चोरी शिकारी र मासुको रुपमा प्रयोगलगायत विभिन्न कारणले गर्दा ५७ प्रतिशत चराको कमी भएको र २२ प्रजातिका चरा लोप भइसकेको जानकारी दिनुभयो । उहाँले पछिल्लो तीन महिनामा मात्रै प्रदेश २ मा करिब एक लाख ५० हजार भँगेरा मानिसले मासुको रुपमा प्रयोग गरेको जानकारी दिनुभयो ।

पर्यावरण संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आउनुभएका सुरेश शर्माले बजार क्षेत्रमा लगाइने स्ट्रिट लाइटका कारण भँगेराले रात दिन पहिचान गर्न नसक्ने र मोबाइल फोन र यसका टावरबाट निस्कने विकिरणका कारण भँगेरालाई बाँच्न कठिन भएको बताउनुभयो ।

भँगेराको मासुलाई यौनवर्द्धक शक्तिको रुपमा लिइने भ्रमले पनि यसको अस्तित्व सङ्कटमा पर्दै गएको उहाँको बुझाइ छ । भँगेराको सिकार र भँगेराको मासु व्यवसायमा प्रतिबन्ध लगाउनुपर्ने पर्यावरण अभियानी शर्माले भन्नुभयो ।

पन्छीहरुमा सबैभन्दा बढी यौनक्रीडामा रमाउँने भँगेराले दैनिक तीन सय पटकसम्म यौनसम्पर्क गर्ने क्षमता राख्छ । त्यसैले भँगेराको मासु यौनवर्द्धक हुने भएको भन्दै यौन क्षमता बढाउन भँगेराको शिकार गर्ने प्रवृति पनि धेरै ठाउँमा पाइन्छ ।

विश्वमा पाइने ३२ प्रजातिका भँगेरामध्ये नेपालमा घर, रुख, कैलो, पीतकण्ठे र स्पेनिस गरी पाँच प्रजातिका भँगेरा मात्र पाइने गरेको पर्यावरण अभियानी तथा प्रदेश २ सभासदस्य रामअशिष यादवले भन्नुभयो ।