खुला | प्रदेश |

वडा अध्यक्षसहित १५३ जना एमालेमा प्रवेश

लोकेन्द्र जोशी
दार्चुला, पुस ११ गते । नेकपा (एमाले) दार्चुलाले जिल्ला अधिवेशनको तयारी थालेको छ । एमाले केन्द्रीय कमिटी बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेअनुसार दार्चुला एमालेले पनि अधिवेशनको तयारी थालेको हो ।

अधिवेशन आयोजक कमिटीको बैठकअघि नौगाड गाउँपालिकामा बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम गरिएको एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार नौगाड गाउँपालिकामा नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाबाट १५३ जना एमालेमा प्रवेश गरेका छन् । नौगाड गाउँपालिका ३ मा काँग्रेसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्ष बहादुर सिंह बोहराको नेतृत्वमा १५३ जना एमालेमा प्रवेश गरेको अध्यक्ष जोशीले बताउनुभयो ।

उहाँका अनुसार काँग्रेसबाट ११२ जना, माओवादी केन्द्रबाट ३८ जना र राप्रपाबाट तीन जना गरी १५३ जना एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गरेका कार्यकर्तालाई पूर्वमन्त्री, एमाले सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज, पोलिटब्युरो सदस्य तथा सांसद गणेशसिंह ठगुन्नाले खादा लगाएर स्वागत गर्नुभएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो ।

बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ठगुन्नाले सामूहिक विकास, आम जनताको उत्थान, सामानुपातिक विकास, सुखी नेपाली समृद्ध नेपालको अभियान साकार पार्न एमाले लागिपरेको बताउनुभयो । देश निर्माण र राष्ट्रियताको अभियानमा लाग्न उहाँले अनुरोध गर्नुभयो । एमालेले आइतबार दार्चुला सदरमुकाम खलङ्गामा एमाले दार्चुलाको नवाैं जिल्ला अधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न गरेको छ ।