बैतडीमा २७ हजार मतदाता थपिए
गोकर्ण दयाल
बैतडी, पुस ११ गते । बैतडीमा २७ हजार २२४ नयाँ मतदाता थपिएका छन् । मतदाता थपिएपछि कुल मतदाताको संख्या एक लाख ५२ हजार २२४ पुगेको छ । २०७४ को निर्वाचनमा एकलाख २५ हजार मतदाताले मतदान गरेका थिए ।
मङ्सिर १७ गतेदेखि पुस ९ गतेसम्म निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावलीमा नाम छुटेकोहरुको नामावली सङ्कलन गर्ने कार्यक्रम पाँच हजार मतदाताले नामावली टिपाएका छन् ।
निर्वाचन आयोगले छुटेका मतदाताहरुको फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन गाउँ तथा नगरपालिकाको केन्द्रमा कर्मचारी खटाएर २० दिनसम्म मतदाता नामावलीमा सङ्कलनको कार्यक्रम राख्दा छुटेका पाँच हजार मतदाताले नामावली सङ्कलन भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
२० दिनसम्म सञ्चालन भएको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा ५१९, ईलाका प्रशासन कार्यालय हाटमा ९९, दोगडाकेदार गाउँपालिकामा ४८५, डिलासैनी गाउँपालिकामा ४६९, पुरचौडी नगरपालिकामा १ हजार २३९, सुर्नया गाउँपालिकामा ४२८ जनाले मतदाता नामावलीमा नम दर्ता गराएका छन् ।
त्यसैगरी, पाटन नगरपालिकामा ८८२, सिगास गाउँपालिकामा २९०, शिवनाथ गाउँपालिकामा ३३४, पञ्चेश्व्र गाउँपालिकामा १२६ र मेलौली नगरपालिकामा ५१४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बैतडीमा प्रमुख राजेन्द्र फुयालले बताउनुभयो ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा भने निर्वाचन घोषणा नभएसम्म जिल्लाभरि छुटेकाहरुका लागि जिल्ला निर्वाचन कार्यालयमै फोटोसहितको मतदाता नामावली सङ्कलन हुने फुयालले बताउनुभयो ।