राजमार्ग निर्माणले फेरिँदै गाउँ
बाबुराम देवकोटा
मरिण(सिन्धुली), पुस १२ गते । मरिण गाउँपालिका –५ निवासी काजीमान तामाङलाई केही वर्ष पहिलेसम्म सदरमुकाम सिन्धुलीमाढी जाँदाको सास्ती अहिले एकादेशको कथा जस्तै बनेको छ । कुनै बेला उहाँले भोगेको उक्त सास्ती अहिले भने जो कोहीलाई पत्याउनै गाह्रो पर्दछ । गाउँबाट मदन भण्डारी राजमार्ग निर्माण भएसँगै जिल्लाकै दुर्गम क्षेत्रको रुपमा परिचित मरिण क्षेत्रले काँचुली फेर्दै गएको छ ।
‘पाँच वर्ष अघिसम्म यस क्षेत्रका बासिन्दालाई सदरमुकाम सिन्धुलीमाढी आउन जान निकै सास्ती थियो,’ उहाँले भन्नुभयो, ‘वर्षादको बेलामा सदरमुकाम जान आउन भनेको त अर्को जुनी पाए जत्तिकै हुन्थ्यो । मरिण गाउँपालिकाको केन्द्रबाटै सदरमुकाम सिन्धुलीमाढीसम्म पुग्न कम्तिमा पनि चार घण्टा हिँड्नुपर्दथ्यो । बीचमा मरिण खोलामा आएको बाढीको जँघार तर्दै जाँदा बाँच्ने ठेगान हुँदैनथ्यो ।’
अहिले गाँउबाटै मदन भण्डारी राजमार्ग निर्माण भएपछि यस क्षेत्रका बासिन्दाले वर्षेनी भोग्दै आएको उदेकलाग्दो सास्ती एकादेशको कथा जस्तै बनेको उहाँले बताउनुभयो । त्यसो त जिल्लाको मरिण क्षेत्रमा मरिण र हरिहरपुरगढी गरी दुई वटा गाउँपालिका छन् । पछिल्लो समयमा गाउँबाटै राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्ग निर्माण भएसँगै मरिण गाउँपालिकाको केन्द्र कपिलाकोट र हरिहरपुरगढी गाउँपालिकाको केन्द्र झनझनेमा विकासले तीव्र रुप लिएको स्थानीयको बुझाइ छ ।
हरिहरपुरगढी गाउँपालिका –२ चैनपुर निवासी लालबहादुर भोलन पनि बाउबाजेले गर्दै आएको कृषि पेसा छाडेर दुई वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएको छ । स्मारिका होटलका सञ्चालक समेत रहुनभएका भोलन पनि राजमार्ग निर्माणसँगै आफूले यो अवसर पाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘पहिलेको दुर्गम गाँउहरुको स्वरुप फेरिँदै गएका छन् । कुनै बेला रात बास बस्न ठाँउ नपाईने गाँउहरु अहिले सहरमा परिणत हुदै गएका छन् । होटलले भरिभराउ बन्दै गएका छन् ।’
मरिण क्षेत्रको विभिन्न भागलाई चिर्दै निर्माण भइरहेको मदन भण्डारी राजमार्गले गर्दा स्थानीयले पैदल र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको उहाँको अनुभव छ । उहाँका अनुसार राजमार्गले स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याएको छ । आम्दानीका नयाँनयाँ अवसर र ढोका खुल्न थालेका छन् । घर आँगनमा पक्की सडक निर्माण भएपछि ग्रामीण भेगमा शहरीकरण सुरु भएको छ ।
मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन पनि अहिले मरिण क्षेत्रमा भइरहेको तीव्र विकासका कारण बसाइसराइँ घट्दै जानुका साथै सरकारी कार्यालय, वित्तीय संस्थाहरु, कृषि क्याम्पस, अस्पताल, स्वास्थ्य चौकी, क्याम्पस आदिको स्थापनाले स्थानीयको जनजीवन निकै सहज बनाएको बताउनुहुन्छ । ‘सेवा र सुविधा थपिँदै गएपछि अहिले गाउँमा जमिनको मूल्य आकासिँदो छ’, उहाँले भन्नुभयो, ‘कपिलाकोट छापमा नै एक दशक अगाडिसम्म प्रति कठ्ठा लाख, डेढ लाखमा पाइने जग्गाको मूल्य बढेर अहिले २५/३० लाख रुपियाँ पुगेको छ । दुर्गम गाउँ अहिले सुगममा परिणत भएका छन् ।’
राजमार्गले स्थानीयस्तरमा मानिसको चहलपहल बढ्नुका साथै गाउँमा उत्पादन गरेका कृषि, फलफूल, खसी बाख्रा लगायत विक्री गर्न सहजै बजारसम्म पु¥याउन सहज भएको उहाँको भनाइ छ । त्यसो त चुरे तथा भित्री मधेसको उपत्यका जोड्ने गरी निर्माण थालिएको मदन भण्डारी राजमार्गले पश्चिम खण्ड अन्तर्गत सिन्धुली सदरमुकाम सिन्धुलीमाढीबाट हेटौंडासम्मको ११५ किलोमिटर पार गर्छ । यो राजमार्ग पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गको बीचबाट भित्री मधेसकालाई जोड्ने गरी निर्माण गरिएको छ । यो राजमार्गले सदरमुकाम सिन्धुलीमाढीसँगको दूरी छोट्ट्याउँदा सिन्धुली पश्चिमी क्षेत्रका बासिन्दाले सुविधा पाएका हरिहरपुरगढी गाउँपालिकाका कर्मचारी यादव आचार्यले बताउनुभयो ।
स्थानीयका अनुसार राजमार्गले छुने गाउँगाउँसम्म विद्युत् र खानेपानीसँगै स्वास्थ्यको पहुँच पनि पुगेको छ । ‘केही स्थानमा काम ढिला भए पनि बनेका सडकले धेरै कुरालाई नजिक बनाएको छ । दुर्गम भनेर जग्गा बेचेर शहर पस्नेलाई पनि अहिले राजमार्ग निर्माणले गाउँ फर्काएर उद्यमी बनाएको स्थानीय बताउँछन् ।