खोटाङ जन्तेढुङ्गा गाउँपालिका ५ का वडाध्यक्ष श्रेष्ठको निधन
राजकुमार भट्टराई
खोटाङ, पुस १३ गते । खोटाङको जन्तेढुङ्गा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ६४ वर्षको उमेरमा सोमबार राति १२ बजे घरमै निधन भएको कार्यवाहक वडाध्यक्ष धनबहादुर राईले जानकारी दिनुभयो ।
मुटुरोगबाट पीडित श्रेष्ठको अघिलो वर्ष मुटुको भल्भ फेरिएको र अहिले औषधी सेवन गर्दै आउनुभएको पारिवारिक श्रेतले जनाएको छ । वि.सं. २०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा उहाँ साविक चिसापानी गाविसको अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित हुनभएको थियो ।
वि.सं. २०५७ सालको जिल्ला अधिवेशनबाट क्षेत्रीय सभापति, २०६२ मा जिल्ला सदस्य तथा २०६७ र ७२ मा महाधिवेशन प्रतिनिधि हुनुभएको थियो ।
यस्तै, श्रेष्ठ २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली काँग्रेसको तर्फबाट चिसापानीको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।