काम नसकी कानेपोखरी–रङ्गेली सडक हस्तान्तरण
हरिप्रसाद कोइराला
कानेपोखरी(मोरङ), पुस १३ गते । निर्माण कम्पनीले मोरङको कानेपोखरी– रङ्गेली हुलाकी सडक चैत १८ गते समुदायलाई हस्तान्तरण ग¥यो । तर मुख्य बजारमा निर्माण गरिएको सडक किनारका नालामा ढकनी नलगाइदिएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन् ।
यो सडक पूर्व पश्चिम राजमार्ग र विराटनगर – रङ्गेली – आमबारी सडकलाई जोड्ने जिल्लाकै सबैभन्दा पुरानो सडक हो । २५ दशमलव ४० किमी लम्बाइको यस सडकलाई जिल्लाको पहिलो हुलाकी सडक नाम दिइएको छ । सडक बनेपछि उत्तरी मोरङको लेटाङलाई भारतको चोर्पाहासँग सडक सञ्जालले सीधा जोडेको छ । सडक बने पनि आइतबारे, रमाइलो, भौंसाबारी, दलेली बजार क्षेत्रमा निर्माण गरिएका सडक किनारका नालामा निर्माण कम्पनीले अझै ढकनी(स्ल्याब) लगाएको छैन । कानेपोखरी–७ आइतबारेका पदमप्रसाद कोइरालाले भन्नुभयो – ‘घर अगाडि नाला बन्यो । सडक बनाउने कम्पनीले सडक हस्तान्तरण गरेको समाचार आयो तर, नाला छोप्ने स्ल्याब अझै लगाइदिएको छैन । नालामा स्ल्याब नहालिदिँदा घरमा मोटरसाइकल, साइकल लगायतका गाडी–घोडा लैजान समस्या भइरहेको छ । खेत जोत्न ट्याक्टर लग्न सकिएन ।’
कोइरालाका अनुसार आफ्नै खर्चमा ३० फिट नालामा स्ल्याब लगाउन १ लाख रुपियाँले पुग्दैन । अझ दुर्घटना परेका सवारी साधन नालामा पर्दा बढी क्षति भइरहेको स्थानीको भनाइ छ ।
उता, सोही सडकखण्डमा पर्ने कानेपोखरी–२ र रङ्गेली ८ को सिमानामा रहेको गेउरिया खोलाको पुल समेत पाँच वर्ष यता अलपत्र छ । असार पहिलो साता आएको बाढीले डाइभर्सन भत्काएपछि गाउँपालिकाले आपतकालीन कोष खर्च गरेर डाइभर्सन त बनायो । त्यो पनि कात्तिक ३ को बाढीले भत्कायो । पटक पटक गरेर स्थानीय निकायले ४ पटक आपद्कालीन कोष खर्च गरेर डाइभर्सन बनायो तर स्थायी पुल बन्ने निश्चित नभएको स्थानीय गोपाल खड्काले बताउनुभयो ।
वि.सं. २०७४ असार ६ गते नेपाली निर्माण कम्पनी लामा, डाँफे ,द कन्चनजङ्घा कन्ट्रक्सन प्रालिले सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । यस कम्पनीले पनि २०७६ को असार ५ गते यो सडक कालोपत्रे गरेर हुलाकी सडक आयोजनालाई जिम्मा लगाउने सम्झौता भएको थियो । तर, निर्माण सामग्री आपूर्ति गर्न र त्यसपछि कोभिडका कारण काम गर्न ढिलाइ भएपछि तोकिएको समयभन्दा २१ महिनापछि सडक हस्तान्तरण भएको हो ।
२१ महिना ढिलो गरेर सडक हस्तान्तरण गर्दा पनि नालामा स्ल्याब नलगाएपछि स्थानीय उपभोक्ता आक्रोशित भएका छन् ।सडक हस्तान्तरणका क्रममा निर्माण कम्पनी कन्चनजङ्घा निर्माण सेवाका सञ्चालक टेण्डी शेर्पाले ९९ प्रतिशत काम सम्पन्न भएको बताउनुभएको थियो । उहाँले केही स्थानमा ड्रेनमाथि स्ल्याब राख्ने र माइल स्तम्भ राख्ने बाहेक सबै काम सकिएको बताउँदा स्थानीयले ड्रेनमाथि स्ल्याप राख्न र माइल स्तम्भ राख्न बाँकी रहेको बुझेका थिए । चैत १८ पछि निर्माण कम्पनीले ठाउँ ठाउँमा ट्राफिक सङ्केत र चौकको नाम भएका बोर्ड राख्ने बाहेक कुनै काम गरेको छैन ।
उता, हुलाकी सडक निर्देशनालय टेकुका प्रमुख रोहित बिसुरालले काम सम्पन्न भए पनि भुक्तानीका लागि बिल पेश भइनसकेको बताउनुभयो । भारत सरकारको प्रत्यक्ष निगरानीमा नेपाली निर्माण कम्पनीले कालोपत्रे गरेको हो ।
भारतीय सुपरभिजन कन्सल्टेन्सीका इन्चार्ज तनुज वाजपेयीका अनुसार सडकको ९७ दशमलव ०२ प्रतिशत काम सम्पन्न भएको छ । उहाँले भन्नुभयो – ‘सडकको विभिन्न स्थानमा रहेका कल्भर्टहरूमा रेलिङ लगाउने, माइल स्तम्भ राख्ने र मुख्य बजारका नालामा स्ल्याब राख्ने काम बाँकी छ ।’ उहाँले यी काम नसकी भारतीय सुपरभिजन कन्सल्टेन्सीले भुक्तानीको सिफारिस नगर्ने बताउनुभयो ।