अवैध लागूऔषधसहित फर्पिङबाट एकजना पक्राउ
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १३ गते । काठमाडौंको दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध पाँच सय ८८ एम्पुल डाइजेपाम, पाँच सय ८४ एम्पुल नुर्फिन र पाँच सय ८५ एम्पुल फेनारगनसहित काठमाडौं कलंकी बस्ने बारा कोल्हबी नगरपालिका–५ बधुबन घर भएका ५१ वर्षीय टेकबहादुर थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
रौतहटको चपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ९३६ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्न क्रममा सुमोमा सवार थापालाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको उहाँमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यस्तै, महालक्ष्मी नगरपालिका १ इमाडोल नयाँबस्ती डेरा गरी बस्ने प्युठान घर भएकी ३८ वर्षीया विमला बन्जाडेको कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गहनासमेत गरी करिब सात लाख ८८ हजार पाँच सय रुपियाँ बराबरको धनमाल चोरी भएको छ ।
उहाँको कोठामा कोही नभएको अवस्थामा अपरिचित मानिसहरुले कोठाबाट उक्त धनमाल चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले अहिले फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।