खुला |

राष्ट्रिय प्राणी उद्यान : सात वर्षमा पनि सुरु भएन काम

नगेन्द्र सापकोटा

भक्तपुर, पुस १४ गते । सात वर्ष बितिसक्दा पनि भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र निर्माण गरिने भनिएको राष्ट्रिय प्राणी उद्यान निर्माणको काम सुरु हुन सकेको छैन । २०७१ सालमा तत्कालीन मन्त्रिपरिषद्ले उक्त नरपालिकाको २४५ हेक्टर जमिनमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने निर्णय गरेको थियो ।

नेपालमै पहिलो पटक निर्माण हुन लागेको राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना निर्माणमा ढिलाइ हुँदा प्राणी उद्यानको काम भौतिक रूपमा सुरु हुन नसकेको हो। राष्ट्रिय प्राणी उद्यानका निर्देशक अणनाथ बरालले आगामी असारभित्र गुरुयोजना निर्माण गरिसकिने र आगामी आर्थिक वर्षदेखि भौतिक रूपमा काम सुरु हुने बताउनुभयो ।

रामर्शदातासँग सम्झौता गरी काम भइरहेको छ । गुरुयोजना निर्माण गरी उक्त गुरुयोजना मन्त्रालयले पारित गरेपछि आगामी वर्षदेखि प्राणी उद्यानको काम भौतिक रूपमा काम सुरु हुनेछ । उक्त गुरुयोजना र प्राणी उद्यान सञ्चालनको विस्तृत परियोजना प्रस्ताव (डीपीआर)सँगसँगै निर्माण हुनेछ । पर्याप्त बजेट र जनशक्ति भएको अवस्थामा करिब १० वर्षमा राष्ट्रिय प्राणी उद्यान निर्माण भइसक्ने जनाइएको छ ।

अहिलेसम्म प्राणी उद्यानको कार्यालय भवन र प्राणी उद्यान निर्माण हुने क्षेत्रमा तारबार लगाउने काम भएको छ । निर्माणाधीन प्राणी उद्यानमा बाघ, गैँडा, हात्ती, चित्तल, मृग, निलगाई, चौरी, गोही, झारल, हुँडार, हाब्रे, बाँदर प्रजाति अजिङ्गर गोही र सबै प्रकृतिका चरा प्रजाति रहने छन् । प्राणी उद्यान निर्माण सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

जैविक केन्द्र बन्ने
प्रणी उद्यान निर्माण भइसकेपछि अन्तर्राष्ट्रिय स्तरको जैविक अनुसन्धान केन्द्रका रूपमा विकास हुने राष्ट्रिय प्राणी उद्यानले जनाएको छ । नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन । अन्तर्राष्ट्रिय स्तरमा भारतको चण्डीगढमा यस्तै प्रकृतिको प्राणी उद्यान निर्माण भएको छ ।

उद्यानमा आउने अवलोकनकर्ताले नेपालमा पाइने सबै जनावर र चराचुरुङ्गीको एकै स्थानमा बसेर सजिलै अध्ययन अवालोकन गर्न सक्ने छन् । नेपालमा पाइने सबै प्रजातिका जनावर र चराचुरुङ्गी राखिनेछ । जनावर र चराचुरुङ्गीको सहजै अवलोकन तथा अध्ययन गर्न सकिने गरी प्राणी उद्यान निर्माण गर्न लागिएको हो ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका पूर्वसहायक डिन जीवनाथ पाण्डेले प्राणी उद्यान क्षेत्रमा सातवटा क्षेत्र (जोन) निर्माण गरिने र जनावरको स्वभावअनुसार उक्त क्षेत्रमा राखिने गरी गुरुयोजना निर्माण हुने बताउनुभयो ।
उहाँका अनुसार प्राणी उद्यान निर्माण सम्पन्न भएपछि प्रत्येक क्षेत्रको छुट्टाछुट्टै जनावर र जीवजन्तुको अध्ययनका लागि पार्क, वन्यजन्तु उपचार केन्द्र, जियोलोजिकल लाइब्रेरी, बोटानिकल लाइब्रेरी, सभा हल, वन्यजन्तुसम्बन्धी अनुसन्धान केन्द्र, वन्यजन्तु शैक्षिक प्रदर्शनी स्थान, मनोरञ्जनात्मक पार्क निर्माण गरिनेछ ।