खुला | प्रदेश |

हिमपातले बैतडी–बझाङ सडक बन्द


गोकर्ण दयाल
बैतडी, पुस १४ गते । हिमपातका कारण बैतडी–बझाङ सडक अवरुद्ध भएको छ । बैतडीको खोड्पे, अनारखोली, श्रीभावर, गर्जे, सतबाँझ, देहिमाडौं, ग्वाल्लेक, धर्मघर लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

मङ्गलबार बेलुकीदेखि परेको हिमपातका कारण बैतडीको खोड्पेदेखि बझाङसम्मको यातायात अबरुद्ध भएको यातायात व्यवसायि नरेन्द्र भट्टले बताउनुभयो । हिमपातका कारण बैतडीको खोड्पेबाट बझाङ जाने सवारी साधन अबरुद्ध बनेको भट्टले बताउनुभयो ।

हिमपातका कारण बैतडीको सिगास गाउँपालिका जाने बाटो बन्द भएको छ । गर्जेमा दुई फिटभन्दा बाक्लो हिमपात भएको छ । हिमपातका कारण दशरथचन्द नगरपालिका–२, देहिमाडौंबाट ग्वाल्लेक जाने ग्रामीण सडकमा पनि सवारी साधन चल्न सकेका छैनन् ।

हिमपातका कारण बैतडीको खोपड् क्षेत्रमा आपूर्ति हुने खानेपानीको पाइप चिसोले जमेपछि पानी बन्द भएको छ । विद्युतसमेत नआउँदा खानेपानी बन्द भएको स्थानीय मोहन बिष्टले बताउनुभयो ।

हिमपातपछि चिसोका कारण पहाडी जनजीवन प्रभावित बनेको छ । चिसो बढेकाले बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा जिल्ला अस्पताल बैतडीका चिकित्सक वसन्तराज जोशीले बताउनुभयो ।

डा. जोशीले चिसोको समयमा बालबालिकाहरुलाई निमोनिया हुनसक्ने भएकाले न्यानो बनाइराख्न तातो र झोलिलो खानेकुरा खानुपर्ने सुझाव दिनुभएको छ ।

किसान हर्षित !

हिमपातले बैतडीका किसान भने हर्षित बनेका छन् । हिमपातका कारण आलुखेती गर्ने किसानलाई राहत भएको छ ।
हिउँदे वर्षासँगै परेको हिमपातले हिँउदे खेती सप्रिने बैतडीको खोड्पे क्षेत्रका किसानले बताएका छन् ।