खुला | प्रदेश |

हुम्लामा भारी हिमपात तापक्रम माइनस १२ डिग्री


राजन रावत
हुम्ला, पुस १४ गते । रातिदेखि जिल्लाभर भारी हिमपात भएको छ । हिमपातले चिसो बढेर जनजीवन प्रभावित भएको छ भने पशुवस्तु गोठबाट निकाल्न सकिने अवस्था छैन । स्थानीय लोकेन्द्र रावतले रातिबाटै धेरै हिमपात भइरहेको बताउनुभयो । उहाँले हिउ पर्ने क्रम जारी रहेको बताउनुभयो । यसवर्षको तेस्रो पटकको हिमपात भए पनि यो ठूलो हिमपात भएको छ ।

यसअघि होचा क्षेत्रमा हिउँ नपरेर वर्षा भएको भए पनि यस पटक भने कर्णाली नदीको तीरसम्मै हिउँ जमेको पाइन्छ । चिसो पनि दिउँसै माइनस १२ डिग्रीमा पुगेको उहाँले बताउनुभयो । बजार क्षेत्र फाट्टफुट्ट खेले पनि मानिसको आवतजावत धेरै कम देखिएको छ । खुलेका पसलहरुमा पनि आगो तातेर व्यापारीहरु बसिरहनुभएको छ । कार्यालयमा पनि सेवाग्राहीका उपस्थिति अहिलेसम्म हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विरलै हिउँ पर्ने खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा यस पटक हिउँ पर्न सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनुभयो ।