खुला | प्रदेश |

पुस १५ मा बटुक र तरुलको स्वादमा रमाउँदै सुदूरवासी

गोकर्ण दयाल
बैतडी, पुस १५ गते । बैतडीसहित सुदूरपश्चिममा पुस १५ लाई पर्वका रुपिमा मनाउँदै तरुल, माणा, बटुकजस्ता खानेकुरा खाएर सुदूरपश्चिमेलीहरु रमाएका छन् । बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम, बाजुरालगायत सुदूरपश्चिमभर मनाइने पुस १५ का दिन घरपरिवारका सदस्य एकै ठाउँमा जम्मा भएर मिठो मसिनो खाने चलन छ ।

पुस १५ गतेका दिन तरुल, घ्यु, सेल, माणा, र मासबाट बनाइएका बटुक खाएर घर परिवारका सदस्य जम्मा भएर आईना र बातै सुन्ने चलन रहेको संस्कृतिविद् चन्द्रमोहन तिवारीले बताउनुभयो । पुस १५ को रातलाई पर्वका रुपमा मनाउने चलन रहे पनि पछिल्लो समय आइना र बातै (लोककथा) सुन्ने चलन हराउँदै गइरहेको तिवारीले बताउनुभयो ।

पुस १५ को रात निकै लामो हुने र कागलाई जाडो हुने मान्यताअनुसार पुस १५ गतेको दिन मीठो र तातो खानेकुरा खाएर रातभर आइना र बातै (लोककथा ) सुन्ने चलन रहेको तिवारीले बताउनुभयो । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालप्रतिको बढ्दो मोहका कारण आइना र बातै सुन्ने चलन हराउन थालेको सामाजिक अगुवा गोविन्दराज जोशीले बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत पुस १५ गतेको शुभकामना आदानप्रदान हुन थालेको जोशीले बताउनुभयो ।

पुस १५ गतेको राति सुदूरको मौलिक खाना माणा, बटुकजस्ता मीठा परिकार खाएर घरपरिवारका सदस्य एकै ठाउँमा बसेर लोककथा सुन्ने चलन छ । सामाजिक सञ्जाल र टिकटकले गर्दा घर परिवारका सदस्य कोही कसैको कुरा सुन्न नरुचाउने गरेको जोशीले बताउनुभयो । पुस १५ गतेको राति ‘सुनकेसरी बातै’ र ‘डुब्क्या मुल्याकी बातै’ जस्ता कथा सुन्ने चलन रहेको नागरिक समाजका अगुवा गणेश ठकुराठीले बताउनुभयो ।

पुस १५ का दिन छरछिमेक, इष्टमित्र र छोरी चेलीलाई निम्ता गरेर मिठोमसिनो परिकार खुवाउने चलन रहेको ठकुराठीले बताउनुभयो । पुस १५ को रात छोटो हुने र दिन बढ्ने सुदूरपश्चिमेलीमा विश्वास  छ । पुस १५ को राति कागलाई पनि चिसो हुने मान्यता छ ।