खुला | प्रदेश |

म्याग्दीको गुर्जामा हिँउमा पुरिएर एक जना बेपत्ता

ठाकुुरप्रसाद आचार्य
म्याग्दी, पुस १५ गते । म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा हिउँमा पुरिएर बिहीवार एकजना बेपत्ता हु्नुभएको छ । गुर्जाको सुकेलट्टेमा हिमपातका कारण गोठ भत्किँदा ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँकाअनुसार अन्य तीनजना हिउँमा फसेर अलपत्र परेका छन् ।

बस्तीदेखि टाढाको गोठमा बस्दैआएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र परेको उहाँले बताउनुभयो । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

भारी मात्रामा भएको हिमपातका कारण गुर्जा जाने पदमार्ग, विद्युत र मोवाइल तथा इन्टरनेट सेवा बन्द भएको छ । गुर्जा पुग्न गाउँपालिका केन्द्र मुनादेखि एकदिन समय लाग्छ । बाक्लो मात्रामा हिमपात भएकाले टेलिफोन र इन्टरनेटका सेवा प्रवाहका लागि स्थापना गरिएको टावरमा क्षति पुगेको छ । अहिले सेवा अवरुद्ध भएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । मौसम सफा भएपछि मात्र मर्मत गरेर सेवा सुचारु गर्न सकिने उहाँले बताउनुभयो ।

त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् । धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोसलगायतका बस्तीमा घरका छाना र जमिन पूरै ढाकिएको छ । रुखसमेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषक खुसी भएपनि पशुपालन गर्ने किसान भने घाँसपातको बन्दोबस्त मिलाउन नसकेर समस्यामा परेका छन् ।

घर र हिँड्ने बाटो पनि हिउँले पुरिएपछि स्थानीयवासीलाई सकस भएको मुदी सिंकोस बगर आस्मन पुर्जाले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार २२० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा गाउँ तथा आसपासका क्षेत्रमा भारी हिमपात भएको छ । गुर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैल मार्गमा बाक्लो हिमपात भएपछि आवतजावतमा समस्या भएको स्थानीयको भनाइ छ ।