गाउँमा बिजुलीबाट चल्ने मिल भएपछि कुटान पिसानमा सहज
जनार्जन खत्री
सर्लाही, पुस १७ गते । विजुली बत्ति गाउँमा पुगेसँगै बिजुलीबाट चल्ने मिल खुल्न थालेपछि किसानलाई कुटान पिसान गर्न सहज हुन थालेको छ । सर्लाहीको अधिकांश गाउँमा बिजुलीबाट चल्ने मिल खुलेका छन् । बस्तीपिच्छे मिल भएपछि किसानलाई सहज भएको हो ।
गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै घण्टौं लगाएर जाँतोमा अन्नपात पिस्नुपर्ने बाध्यता अन्त्य भएको हरिपुर नगरपालिका– १, संखुवाका ध्रुबप्रसाद प्रसाइँले बताउनुभयो । “पहिलेजस्तो बिहान ३ बजे नै उठेर जाँतो चलाउनुपर्ने बाध्यता अब छैन्, गाउँमै मिल खुलेका छन्, एकैछिनमा कुटान पिसान हुन्छ,” उहाँले भन्नुभयो ।
किसानले उब्जाएको मकै, धान, गहुँलगायतका अनाज कुटान पिसान गर्न ढिकी, जाँतोको प्रयोग हुन छाडेको छ । मिलमा लगेर पिस्दा समयको समेत बचत हुने किसानहरुले बताएका छन् । सर्लाहीमा २० वटा स्थानीय तहका २०० वटा वडामा विद्युतीकरण भइसकेको छ । विद्युत् पुगेकाले प्रत्येक वडामा बिजुलीबाट चल्ने मिल पुगेको छ ।
अधिकांश स्थानीयवासी कृषि पेशामा आवद्ध रहेको कतिपय ठाउँमा एउटै वडामा आधा दर्जन बढी मिल सञ्चालनमा छन् । विगत १५ वर्षदेखि कुटान पिसान गर्ने मिल सञ्चालन गर्दै आउनुभएका ईश्वरपुर नगरपालिका– १२, कालिञ्जोर गोपीचौकका टेकबहादुर चापागाइले आफ्नो ठाउँमा आधा दर्जन बढी मिल सञ्चालनमा रहेको बताउनुभयो ।
सुरुमा आफूले डिजलबाट चल्ने मिल सञ्चालन गरेपनि केही वर्षदेखि विद्युत्बाट चल्ने मिल सञ्चालन गर्दैआएको चापागाइले बताउनुभयो । “अहिले ७२ वर्षको भएँ, मैले कुटान पिसान मिल राखेकै १५ वर्ष भइसक्यो,” चापागाईले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो, “अब पहिलेजस्तो ढिकी, जातोँको प्रचलन हराइसक्यो, सबैले यस्तै बिजुलीबाट चल्ने मिलमा ल्याएर कुटान पिसान गर्छन् ।”
आफूहरुको क्षेत्रमा धान, मकै र गहुँ धेरै आउनेगरेको उहाँले बताउनुभयो । चापागाइले कुटान पिसान मिल सञ्चालन गरेर गुजारा राम्रोसँग चलेको जानकारी दिनुभयो ।
सर्लाहीको बरहथवा नगरपालिका– ९, मूर्तियाका वडाध्यक्ष तुलसी लुइँटेलले गाउँघरमा खुलेका कुटान पिसान मिलले पशुपालक किसानलाई राहत मिलेको बताउनुभयो । “कुटान पिसान मिलले सबैभन्दा सजिलो त किसानलाई भएको छ, बस्तुभाउलाई खुवाउन घण्टौँ लगाएर स्याँस्याँ–फ्याँफ्याँ गरेर ढिकी जाँतो चलाउनु परेको छैन्” वडाध्यक्ष लुईटेलले भन्नुभयो ।