खुला | प्रदेश |

हिँउदे फलफूलका ४० हजार कलमी बिरुवा तयार

गोकर्ण दयाल
बैतडी, पुस २१ गते । सुक्खा फलफूल विकास केन्द्र सतबाँझले बिक्रिका लागि हिँउदे फलफूलका ४० हजार थान बिरुवा कलमी गरेको छ । कुनैबेला लटरम्म स्याउ फल्ने सतबाँझमा स्याउ फल्न छोडेपछि दाँते ओखर, कागजी बदाम, नास्पाति, आरु, खुर्पानी, आरुवखडालगायत हिँउदे फलफूलका बिरुवा उत्पादन गर्न लागेको हो ।

सरकारी स्वामित्वमा रहनेगरी २०१९ सालमा दशरथचन्द नगरपालिका–१ स्थित सतबाँझमा २९ हेक्टर क्षेत्र फलमा भारतबाट छ हजार स्याउका बोट ल्याएर सतबाँझ बागवानीमा स्थापना भएको थियो । मिठो रसिलो स्याउका रुपमा परिचित गोल्डेन डेलिसियस, रोयल डेलिसियस, मेकेन्थेसलगायत ७३ जातका स्याउ रोपिएका थिए ।

जलवायु परिवर्तकाकारण सतबाँझमा स्याउन फल्न छोडेपछि अहिले हिँउदे फलफूलका बिरुवा उत्पादन गरिरहेको सतबाँभले सुक्खा फलफूल विकास केन्द्रका कार्यालय प्रमुख डम्बर भाटले बताउनुभयो ।

स्याउ फल्न वर्षमा १६ सय घण्टासम्म सात डिग्री सेल्सियसभन्दा मुनीको तापक्रम चाहिन्छ । अहिले ५ सय घण्टा पनि मुस्कीलले ७ डिग्री सेल्सियस तापक्रम पुग्ने गरेकोछ, कार्यालय प्रमुख भाटले भन्नुभयो, “जलवायु परिवर्तनको असरले सतबाँझका स्याउ लोप हुँदा सतबाँझको ईतिहास मेटिन नदिन फलफूल केन्द्रले अहिले तामक्रम सुहाउँदो नयाँ प्रजातिका फुजी, गाला र रेडग्रेड स्टिम प्रजातिका एक सय स्याउका बोट रोपेपछि फल्न थालेको छ ।”

नयाँ प्रजातिको स्याउसमेतको कमली बिरुवा उत्पादन गरेर किसानलाई सरकारी दलरेटमा दाँते ओखर, कागजी बदाम, नास्पाति, स्याउ, आरु, आरुबखडालगायत बिक्रिका लागि ५० हजार बिरुवा तयार रहेको कार्यालय प्रमुख भाटले बताउनुभयो ।

कार्यालय प्रमुख भाटले भन्नुभयो, “दाँते ओखरका मात्रै ३७ हजार बिरुवा छन् । कागजी बदाम, आरु, नास्पाति गरेर ५० हजार बिरुवा तयारी अवस्थामा छन् । तीमध्ये ४० हजार बिरुवा मागसम्म कलमी गरेर बिक्रि गरिसक्ने लक्ष्य लिएका छौं ।”

सुक्खा फलफूल विकास केन्द्रले कलमी गरिएका बिरुवा सरकारी दररेट निर्धारण गरेर नास्पाति र स्याउ ७० रुपियाँ, दाँते ओखर एकसय रुपियाँ, कागजी बदाम ६० रुपियाँ र आरु, आरुबखडा, खुर्पानी ५० रुपियाँ प्रतिबिरुवामा बिक्रि गरी केन्द्रले जानकारी दिएको छ ।

हिँउदे फलफूलका बिरुवाबाट यो वर्ष करिब २७ लाख रुपियाँ राजस्व उठाउने लक्ष्य राखिएको खुक्खा फलफूल विकास केन्द्रले जानकारी दिएको छ । खुक्ख फलफूल विकास केन्द्रले गत वर्ष हिँउदे फलफूलका बिरुवा जिल्लाभित्र र बाहिर बिक्रि गरेर ३२ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।