ताप्लेजुङमा धान उत्पादन बढ्यो, मकै घट्यो
चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङमा यसवर्ष खाद्यान्न बाली धान उत्पादन वृद्धि भएको छ भने मकै उत्पादनमा ह्रास आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन वृद्धि र मकै घटेको हो ।
धान खेतीका लागि मौसम अनुकूल भएकाले उत्पादन वृद्धि भएको हो । मकै बालीका लागि भने मौसम केही प्रतिकूल भइदिएकाले उत्पादनमा ह्रास आएको बताइएको छ । कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष आठ हजार ७३७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । उक्त क्षेत्रफल बराबरको खेतीबाट २२ हजार १७.२४ मेट्रिकटन धान उत्पादन भएको सम्पर्क कार्यालयले जानकारी दिएको छ ।
गतवर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीमा २१ हजार ८२ मेट्रिकटन मात्र धान उत्पादन भएको थियो । यस्तै मकै बालीतर्फ चालू आवमा ५७ हजार ९८८ मेट्रिकटन मात्र मकै उत्पादन भएको सम्पर्क कार्यालय ताप्लेजुङका प्राविधिक सहायक केदार धितालले जानकारी दिनुभयो । मकै १६ हजार १९८ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । गतवर्ष सोही क्षेत्रफल बराबरको खेतीबाट ५८ हजार ३१२ मेट्रिकटन मकै उत्पादन भएको थियो ।
चालू आवमा राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको हो । मकै बालीमा भने फौजी कीराको प्रकोप लगायतका समस्या देखा परी मौसम प्रतिकूल भइदिएकाले उत्पादन घटेको किसानको भनाइ छ ।