खुला | प्रदेश |

हिउँदे बिदामा विद्यार्थीलाई दाउरा खाेज्ने चटारो

राजन राउत
हुम्ला, पुस २६ गते । हिमाली जिल्लामा पुस १५ गतेबाट सुरु हुने डेढ महिने हिउँदे बिदाको समयमा विद्यार्थीलाई दाउरा खाेज्ने चटारो छ । दाउरा खाेज्ने र गोरु चराउनमै समय बित्नेगरेको विद्यार्थीले बताएका छन् ।

सिमकोट गाउँपालिका– २ को ठेहे गाउँको रामदेव माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययरत छात्रा जानकी बोहराले विद्यालय बन्द भएपछि दैनिक दाउरा खाेज्नमै समय बित्नेगरेको बताउनुभयो । बिहानको खाना खाएर आठ बजे जङ्गलतर्फ हिंड्नु, बिदामा बसेका विद्यार्थीका लागि दैनिकीजस्तै भएको उहाँको भनाइ छ । उहाँले ट्युसन पढ्ने वा पठनपाठनका लागि अन्य बिकल्प नहुँदा घरपरिवारको सहयोगका लागि पनि जङ्गल गएर दाउरा टिप्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

दाउरा टिप्ने कामसँगै पशुबस्तु चराउने काम गर्दा परिवारको सदस्यहरु पनि खुसी हुनेगरेको विद्यार्थी बोहराले बताउनुभयो । दाउरा टिप्ने कार्य बिधार्थीले यो वर्ष मात्र नभई वर्षेनी गर्दैआएको उहाँको भनाई छ ।

अर्का विद्यार्थी तुलबहादुर भण्डारीले केही न केही गर्नैपर्ने भएका कारण दैनिक एक भारी दाउरा खाेजेर घरको गर्जो टार्ने काम गरिरहेको बताउनुभयो । यो काम चाडपर्व परेका दिन बाहेक आगामी फागुन १ गतेसम्म गर्नैपर्ने हुन्छ उहाँले भन्नुभयो । गाउँमा घनाबस्ती भएको र दाउरा खाेज्न टाढाको जङ्गलमा जानुपर्ने भएका कारण एक भारी दाउरा खाेज्न दिनभरि लाग्ने उहाँको भनाइ छ ।

ठेहे गाउँमा यसरी दैनिक दाउरा खाेजेर ल्याउने विद्यार्थी ३४२ जना रहेको गाउँलेको भनाइ छ । केही बाहेक अधिकांशको हिउँदभरिको काम यही भएको स्थानीयले बताउनुभयो । यसमा अझ छात्रभन्दा बढी छात्राहरुले दाउरा खाेज्ने काम गर्नुपरेको विद्यार्थीको भनाइ छ । एक जना बिधार्थीले दैनिक पच्चीसदेखि चालीस केजीसम्मको दाउराको भारी बोकेर ल्याउने गर्नुभएको छ एक गाउँलेले भन्नुभयो ।

डेढ महिनासम्म विद्यार्थीले खाेजेर ल्याएको दाउराबाटै घरमा काम पनि चल्ने हुँदा अभिभावक पनि खुसी हुनेगरेको विद्यार्थीको बुझाइ छ ।